५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


टिकटकमा लिक भयो ’छक्का पन्जा ४’



काठमाडौं, २१ फागुन । दीपक र दीपाले निर्माण गरेको फिल्म ’छक्का पन्जा ४’ टिकटकमा लिक भएको छ । अहिले टिकटकमा फिल्मको क्लिपहरू भेटिन थालेका छन् । टिकटकमा १५ सेकेन्डदेखि ८ मिनेटसम्मका फिल्मको क्लिप अपलोड भएको छ ।

यता फिल्मका कलाकार तथा निर्माता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ ले उक्त जानकारी फेसबुकमार्फत दिएका छन्। उनले लेखेका छन्, ‘सचेत रहनुहोला है! कानुनी प्रक्रियाका लागि ओएसआर र अन्य व्यक्तिहरू साइबर प्रहरीमा जादैछन् भन्ने सूचना भर्खरै पाएँ। कृपया आफूले अपलोड गरेको फिल्मको भिडिओ डिलिट गरी कानुनी झमेलाबाट बच्नुहोला,’ उनले लेखेका छन्।

उता दिपाश्री निरौलाले भने केदार घिमिरेकै पोस्टलाई सेयर गरेकी छन् । फिल्मले दुई दिनमा ३ करोडभन्दा बढी कमाइ गरेको छ। शुक्रबार १ करोडमाथि ओपनिङ गरेको फिल्मले दोस्रो दिन राम्रो व्यापार गरेको हो। फिल्मले राम्रो कमाइ गरेसँगै मल्टिप्लेक्स चेनमा शो थप गरिएको छ।

हेमराज बिसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।

नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।