११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा ‘पैदलयात्री सचेतता अभियान’ सञ्चालन



काठमाडौं, १ चैत । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्राक्रसिङ तथा आकाशेपुलबाट सडक पार गर्न र साईकल चालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन ‘पैदलयात्री सचेतता अभियान’ सञ्चालन गरेको छ। उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा अभियान सञ्चालन गरिएको हो।
‘जेब्राक्रसिङ तथा आकाशे पुल प्रयोग गरौँ’ भन्ने प्ले कार्ड नै देखाएर ट्राफिक प्रहरीले उपत्यकाका बिभिन्न चोक–चोकमा बसेर अभियानको सुरुवात गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

दिनप्रतिदिन बढ्दो सवारी चापका साथै आकोशपुल र जेब्राक्रसिङ बाहेकका स्थानबाट जथाभावी सडक पार गर्दा ज्यानै जोखिममा पर्ने तथ्याङ्ककलाई आधार मान्दै अभियान सुरुवात गरिएको एसएसपी भट्टको भनाइ छ।
अभियानअन्तर्गत सोमबार ६३७ पैदलयात्रीहरूलाई सम्झाइ–बुझाइ गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। सम्झाइ–बुझाइका क्रममा काठमाडौंको न्युरोड, बालकुमारी, जडिबुटी, ललितपुरको सातदोबाटो र जावलाखेल, भक्तपुरको सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशेपुलबाट पैदलयात्रुहरूलाई सडक वारपार लगाइएको थियो।

यस्तै, रेड लाईट क्रस गर्ने, जेब्रा क्रसिङमा रोक्ने, फुटपाथमा साइकल चलाउने लगायतका विविध ट्राफिक नियम उल्लंघन गर्ने १९३ जना साइकलयात्री (चालक)लाई पनि सम्झाइ–बुझाइ गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

काठमाडौंको कमलपोखरी, थापाथली, बल्खु, बुढानिलकण्ठ, नयाँबसपार्क, नागढुङगा, बौद्ध र भक्तपुरमा साइकलयात्रीलाई सम्झाइ–बुझाइ गरिएको हो।

‘काठमाडौं उपत्यकामा गत आर्थिक बर्षमा मात्रै सवारी दुर्घटनामा ५८ जना र चालु आवको हालसम्म ४० जना पैदलयात्रीको मृत्यु भएको छ। यो तथ्याङ्कअनुसार सडकमा पैदलयात्रु सबैभन्दा बढी जोखिममा रहने देखिएपछि पैदलयात्रीहरुमा ट्राफिक सचेतता अभिवृद्दि गर्न र ट्राफिक व्यवस्थापनमा सहजीकरण गरि दुर्घटनामा कम गर्न अभियान सञ्चालन गरिएको हो,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भट्टले भने।

ट्राफिक प्रहरीले यस अघि २०७४ वैशाख र २०७६ पुसमा पनि पैदल यात्रीका लागि सचेतना अभियान सञ्चालन गरेको थियो।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ९ : २९ बजे