२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना जोखिम बढ्यो : भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ



सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकामा परीक्षण

१६ चैत्र । भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेपछि सुदूरपश्चिमका नाकामा कडाइ गरिएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन् ।

यहाँका भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य परीक्षणमा कडाइ गरिएको हो । भारतमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको जोशीको भनाइ छ । चैत महिनायता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ५८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकामा परीक्षण जारी रहेको कोभिड १९ सम्र्पक व्यक्ति जोशीले बताएका छन् । सुदूरपश्चिमका यी सबै नाकामा नियमित कोरोना परीक्षण कार्य जारी रहेको छ । उनले भने, “भारतबाट फर्किने अधिकांशमा सङ्क्रमण देखिन थालेपछि नाकामा थप कडाइ गरेका हौँ ।”

सीमा नाकामा परीक्षण गर्दा दैनिकरूपमा कोरोना सङ्क्रमण देखिरहेको समुदायस्तरमा पनि यसको जोखिम बढेको छ ।
भारतमा सङ्क्रमण देखिएका सहरसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक छ ।
उनले भने, “भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि जोखिम बढ्दै गएको छ, त्यसको रोकथाम र नियन्त्रणका सीमाक्षेत्रमै परीक्षणमा कडाइ गरेका छौँ ।”

नाकामा हेल्थडेस्क स्थापना गरेर एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ । नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका सबै नाकामा स्वदेश फर्किनेको क्रम पनि बढेको छ ।
स्वदेश फर्किनेको सङ्ख्या बढिरहेकाले जोखिम बढेकाले सीमामै परीक्षणपछि मात्रै आउन दिइएको जोशीले बताउनुभयो । उनले भने, “भारतमा दिनप्रतिदिन सङ्क्रमण फैलिरहेकाले सुदूरपश्चिम पनि जोखिममा छ । सीमामा स्वास्थ्य परीक्षण गरेरमात्रै भित्रिन दिएका छौँ ।”

सङ्क्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होमआइसोलेसनमा बस्न भन्ने गरिएको छ । जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नुका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ । प्रदेशभरि नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ ।

जोखिम बढेपछि सीमा नाकाबाट स्वदेश फर्कनेलाई परीक्षणसँगै अनिवार्य मास्क लगाएरमात्रै भित्रिन दिने नियम बनाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख ४४ हजार चार सय ५४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय २७ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।

पछिल्लो समयमा कोरोना सङ्क्रमण दर बढ्दै गएपछि स्वास्थ्यका मापदण्ड अपनाउनसमेत आग्रह गरिएको छ । कोरोनाबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ६ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।