१७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पौष १० गते प्रधानमन्त्री बनेका प्रचण्डले आज नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
प्रचण्डले कांग्रेसको सिफारिसमा ४ सांसदलाई मन्त्री नियुक्त गरेका छन् । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्रीमा नियुक्त हुँदा डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् ।
जनता समाजवादी पार्टीको सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र वन तथा वातावरणमन्त्री भएका छन् ।
एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।
माओवादी केन्द्रबाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेका छन् । यसअघि पौष ११ गते उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्री भएका श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
माओवादीबाटै उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएकी छन् । नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् ।
अझै प्रधानमन्त्रीसँग ५ मन्त्रालय छन् ।








प्रतिक्रिया