४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


टपरी गाँस्ने प्रतियोगिता आयोजना



 

२४ चैत्र । ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाली संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो ।

पछिल्लो समयमा गाउँघरमा टपरीको प्रयोग कम हुँदै गएपछि यसको टपरी गाँस्ने सीप पनि हराउने जोखिम बढेकाले यो सीपको संरक्षण गरी टपरीको प्रयोग कायम गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र नेपाल पर्यटन बोर्डको सहकार्यमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा मङ्गलबारदेखि सुरु भएको औँद्योगिक, कृषि तथा पर्यटन मेलामा प्रतियोगिता आयोजना गरिएको हो ।

विभिन्न समूह तथा सङ्घ संस्थाले टपरीको विकल्पमा प्लास्टिकका थाललगायतका सामग्री प्रयोग बढाएसँगै टपरीको प्रयोग हराउन थालेको छ । तर अहिले पनि पूजापाठ जस्ता कार्यमा भने टपरीको प्रयोग भइरहेको छ ।

टपरी बुन्ने सीप जोगाउने उद्देश्यले प्रतियोगिता नै गर्नुपरेको आयोजकको भनाइ छ । मेलाको तेस्रो दिन आज टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो । टपरी गाँस्ने प्रतियोगितामा ५० जना सहभागी थिए । प्रतियोगितामा दुईजना पुरुष र बाँकी महिलाको सहभागिता रहेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घका सचिव हर्कराज गुरुङले बताएका छन् ।

टपरी सालको पातलाई बाँसको सिन्काले गाँसेर तयार गरिने थाली जस्तो एक भाँडो हो । यो विभिन्न आकारमा तयार गर्न सकिन्छ । टपरीको प्रयोग प्रायःविवाह, व्रतबन्ध, न्वारनलगायतका काममा प्रयोग हुन्छन् । विवाहमा बरनीको लागि तयार गरिने टपरी तीन हात ब्याससम्मको ठूलो हुन्छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  १० : ३४ बजे