१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कुटुम्बले नयाँ वर्षको दिन टुँडिखेलमा कन्सर्ट गर्ने



काठमाडौं, २४ चैत । नेपाली संगीतप्रेमीहरुको माझ कुटुम्ब ब्याण्ड नाममात्र होइन एउटा स्थापित ब्राण्ड हो । देश तथा विदेशमा समेत यो ब्याण्डलाई नरुचाउने कमै होलान् । समय र परिस्थिति अनुसारको गीत संगीत प्रस्तुत गरिरहने कुटुम्ब सबैको रुचीको ब्याण्ड हो । यही ब्याण्डले नयाँ वर्ष २०८० को दिन अर्थात वैशाख १ गते काठाडौंको टुँडिखेलमा आफ्नो कोसेली पस्किने तयारी गरेको छ ।

कुटुम्बले नयाँ वर्षको स्वागत गर्दै नयाँ कोसेलीसहित दर्जन बढी गीतहरु प्रस्तुत गर्ने छन् । नेपाली नयाँ वर्षलाई फरक ढंगबाट स्वागत गर्दै वैशाख १ गते ५० हजारभन्दा बढीको उपस्थितिमा काठमाडौंको टुँडिखेलमा एकसाथ कुटुम्बको संगीत महोत्सव र अन्य धेरै उत्सव रहने छ । योगा, ध्यान र उत्सव गरी ओशो तपोवनको सहकार्यमा ओम नेपाल मिडियाले ओशो महोत्सव काठमाडौंको टुँडिखेलमा आयोजना गर्न लागेको छ ।

सोही कार्यक्रममा कुटुम्बले आफ्नो नयाँ कोसेली सार्वजनिक गर्ने कार्यक्रमसमेत समावेश गरेको हो । बिहान ९ बजेदेखि राति ९ बजेसम्म हुने १२ घण्टाको महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिहरुलाई सुहाउने विविध प्रकारका कार्यक्रमहरु रहने महोत्सव संयोजक भवन भट्ट स्वामीले बताए ।

‘एकदिने ओशो महोत्सव ध्यान, मेडिटेशन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेशन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहशनलगायतको संगालो समारोह हुनेछ,’ ओशो तपोवनका प्रवक्ता निराजन भण्डारी स्वामीले भने ।

महोत्सव नि:शुल्क अवलोकन गर्न पाइने आयोजकले जनाएको छ । साँझ ५० हजार व्यक्तिले एकसाथ ध्यान र उत्सव गर्ने ओशो तपोवनका कार्यक्रम संयोजक शोविता सिंखडा माले बताइन् ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ११ : ०१ बजे