१ बैशाख । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्न स्थापित संस्था ‘स्रष्टा, चैत्र ३० ले यस वर्षको सम्मान साहित्यकारद्वय श्यामल अधिकारी र तीर्थ श्रेष्ठलाई प्रदान गरिएको छ ।
गुरुकुलले आज आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले उनीहरू दुवै जनालाई सम्मान गरेका छन् ।
अधिकारी र श्रेष्ठलाई सृजना र कर्मका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र परिवर्तनलाई संस्थागत गर्न निर्वाह गरेको रचनात्मक भूमिकाको कदर गर्दै सम्मान गरिएको हो ।
वरिष्ठ कवि काइँलाले लोकतान्त्रिक जनआन्दोलनमा स्रष्टाहरूले खेलेको भूमिकालाई राज्यले पनि उचित सम्मान गर्नुपर्ने बताए । उनले स्रष्टाले जहिले पनि प्रतिपक्षको भूमिकामा सरकारलाई घच्घचाउने बताए ।
उनले हामीले ल्याएको लोकतान्त्रिक सरकारले पनि मौलिक हक, मानवअधिकारका कुरा हनन गरेको खण्डमा कथा, कविताबाट खबरदारी गर्ने बताएका छन् ।
प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसिचव डा तुल्सीप्रसाद भट्टराईले लोकतान्त्रिक संस्कृति निर्माणका लागि आन्दोलनमा खेलिएको भूमिकासहित अभिलेखीकरण गर्नुपर्ने बताए ।
सम्मानित व्यक्तित्व अधिकारीले आज राज्यको भूमिकामा पुगेकाहरूलाई सडक आन्दोलनकै बलले साथ दिएको भुल्न नहुने बताए । अर्का सम्मानित व्यक्तित्व श्रेष्ठले साहित्यकारहरू आस्थाका रूपमा फरक फरक ठाउँमा भए पनि उनीहरूको हार्दिकतामा नाटकीकरण नहुने बताएका छन् । कार्यक्रममा अधिकारीबारे साहित्यकार शार्दूल भट्टराई र श्रेष्ठबारे कवि भोजराज न्यौपानेले व्यक्तित्व चर्चा गरेका थिए ।
यस्तै, ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले लोकतन्त्र ल्याउन स्रष्टाले खेलेको भूमिका अतुलनीय रहेको बताए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडी र स्रष्टा चैत्र ३० का अध्यक्ष मनोज न्यौपानेले साहित्यिक क्षेत्रले गणतन्त्रको संस्थागत विकासका लागि निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए ।
संस्थाका उपाध्यक्ष प्रकाश सिलवालले स्रष्टा आन्दोलनको इतिहासलाई समेटेर ग्रन्थ प्रकाशन गर्ने सुझावलाई कार्यान्वयन गरिने बताए ।
प्रतिक्रिया