महिलामाथि आक्रमण गर्ने बाघलाई स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले दिउँसोदेखि घेरेर बसेका छन्
८ बैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका ८ स्थित पचुईमा घाँस काट्न गएकी एक महिला बाघले आक्रमण गरेर लगेपछि बेपत्ता भएकी छिन् ।
आज बिहान घाँस काट्न गएकी स्थानीय ४२ वर्षीया गङ्गा चन्द बाघको आक्रमणपछि बेपत्ता भएकी हुन् । दिउँसोभर प्रहरी र स्थानीयवासीले खोजी गरे पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिएका छन् ।
आज बिहान ११ बजेतिर चार÷पाँच जना महिलासँगै घाँस काट्न गएका बेला चन्दलाई बाघले आक्रमण गरेर लगेको हो । “हामीले दिनभर खोजी गरे पनि फेला पार्न सकेका छैनौँ”, प्रवक्ता डाँगीले भने, “बाघ त्यही झाडीमा देखिएको छ, बाघको उद्धारका लागि बर्दियाबाट टोली आउँदैछ ।” महिलामाथि आक्रमण गर्ने बाघलाई स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले दिउँसोदेखि घेरेर बसेका छन् । बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली बेलौरी पुगेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बताए ।
“बर्दिया र शुक्लफाटाँको टोली सो क्षेत्रमा पुगिसकेको छ”, उनले भने, “आवश्यक परेमा हात्ती तम्तयार अवस्थामा राखिएका छन् ।”
उनले राति भइसकेकाले क्यामेराबाट बाघको निगरानी गरेर बाघ नियन्त्रणमा लिइने जानकारी दिए ।
ड्रोन क्यामेरामा बाघ र महिलाका वस्त्र देखिएको प्रहरीले जनाएको छ । चन्दसँगै घाँस काट्न गएका अन्य महिलाले भागेर ज्यान जोगाएका थिए । बाघको आक्रमणपछि महिला बेपत्ता भएपछि स्थानीयवासी त्रसित छन् ।








प्रतिक्रिया