२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुल्चोकको हरिहर भवन घाँसभित्र हराउँदै



राष्ट्रिय निजामती किताबखानाको सामान अझै पनि हरिहर भवनभित्र छ । एकवर्ष अगाडिसम्म हामी सामान निकाल्न गएका थियौँ । तर अहिले त भवन निकै जीर्ण अवस्थामा छ, जान सकिँदैन

२० बैशाख । मन्त्री हेडक्वार्टर छेवैमा छ राणाकालीन दरबार संरचना हरिहर भवन । विसं २०७२ वैशाख १२ गतेकोे भूकम्पले भत्काएपछि अहिलेसम्म हरिहर भवन हरियो घाँसभित्र हराइरहेको छ । चन्द्र शमशेर जबराले विसं १९८२ मा आफ्ना माहिला छोरा शङ््कर शमशेर जबराका लागि हरिहर भवन बनाएको इतिहास छ ।

शङ्कर शमशेर हरिहर भवनमा २००६ सम्म बसेर बेलायत गएपछि २०१० सालमा राजदूतबाट फिर्ता बोलाउँदा नेपाल नफर्किएकाले नेपाल सरकारले उनको हरिहर भवनसहित सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गरेको थियो ।

विसं २०२३ मा सरकारी स्वामित्वमा आएको यस दरबार संरचना हरिहर भवनमा निजामती किताबखाना, राष्ट्रिय पुस्तकालय र राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय रहेको थियो । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको यस भवनमा रातो स्टिकर टाँसिएपछि त्यहाँ रहेका कार्यालय खाली गरिएका थिए ।

भूकम्पका कारण क्षतिग्रस्त हरिहर भवनमा हाल बरपिपल, सिस्नु, सहरालगायत अन्य धेरै बिरुवा र घाँसपातले भरिएको छ । राष्ट्रिय निजामती किताबखाना र राष्ट्रिय मानवअधिकार आयोगको केही कामकाज हाल हरिहरभवनकै परिसरमा टिनको प्रिफ्याब टहरामा हुन्छ । त्यहाँ पुगेका सेवाग्राहीले बिजोग अवस्थामा रहेको हरिहर भवनलाई नियालिरहेका भेटिन्छन् ।

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेल भन्छन्, “२०७२ सालको भूकम्पले भवन क्षतिग्रस्त भएपछि हामीले कार्यालयको सामान निकालेर टिनको टहरामा राख्यौँ । त्यसको केही वर्षपछि राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणले हरिहर भवनको परिसरमा रहेको टिनको टहराबाट पनि हामीलाई हट्न पटक–पटक पत्रचार ग¥यो । तर भवन निमार्णका लागि अहिलेसम्म पहल भएको छैन ।”

हाल राष्ट्रिय मानवअधिकार आयोग हरिहर भवन नजिकै वार्षिक रु एक करोड ९३ लाख ५५ हजार सात सय ६० भाडा तिरेर बसेको छ । अयोगका प्रवक्ता पोखरेलले भन्छन्, “हामीले यति ठूलो रकम भाडामा खर्च गरेका छौँ । भाडा तिर्ने रकमले नागरिकको अधिकारका लागि काम गर्न पाएको भए देशको समृद्धि र शासनमा टेवा पुग्थ्यो । हामीले भवन निमार्णका लागि भूकम्पपछिका सबै सरकारसमक्ष ज्ञापनपत्र बुझायौँ तर आश्वासनमा मात्र समय बित्यो ।”

पुल्चोकस्थित जीर्ण भवनले बनाएको भवन अधिकार आयोगको अस्तव्यीत प्रतिक चिन्ह ।

राष्ट्रिय निजामती किताबखानाका केही काम पनि टिनको प्रिफ्याब टहरामा हुन्छन् । किताब खाना पनि हरिहर भवन निमार्णको प्रतीक्षामा छ । राष्ट्रिय पुस्ताकलाय भने त्यहाँबाट अन्यत्र सरिसकेको छ । किताबखानाका सूचना अधिकारी प्रकाशजङग कार्की भन्छन्, “राष्ट्रिय निजामती किताबखानाको सामान अझै पनि हरिहर भवनभित्र छ । एकवर्ष अगाडिसम्म हामी सामान निकाल्न गएका थियौँ । तर अहिले त भवन निकै जीर्ण अवस्थामा छ, जान सकिँदैन ।”

भूकम्प गएको एक दशक बित्न लागि सक्यो । राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय निजामती किताबखाना हरिहर भवन निमार्णको प्रतीक्षामा छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।