२२ बैशाख । गायिका रेखा शाहले चर्चित गीत ‘सिमसिमे पानीमा’को नयाँ भर्सनसँगै भिडियो सार्वजनिक गरेकी छिन् ।
लोकप्रिय गीत सार्वजनिक भएको तीन दशकपछि गायिका शाहले नयाँ भर्सनसँगै भिडियो समेत ल्याएकी हुन् ।
मुम्बईस्थित यशराज स्टुडियोमा रेकर्ड गरिएको गीतमा रिकेश गुरुङ ‘कि’ को सङ्गीत संयोजन तथा उत्पादन रहेको छ भने भारतीय वाधवादकहरूको वाद्यवादन रहेको छ ।
भारतीय सिनेमाका चर्चित गीतहरूको रेकर्डिङ र ध्वनि मुद्रण गर्ने विजय दयालले सिमसिमे पानीलाई नयाँ स्वरूप दिएका छन् ।
यस गीतका दुई वटा म्युजिक भिडियो पनि एकैसाथ सार्वजनिक गरिएको छ । भिडियोमा गायिका शाहसँगै अभिनेता महेश त्रिपाठीको अभिनय छ । रुपेश थापाको छायाङ्कन र निर्देशन रहेको यस गीतको मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।
२०४९ सालमा रेडियो नेपालमा आयोजित लोकगीत प्रतियोगितामा पहिलो भएर चर्चा भएसँगै नेपाली जनमानसमा ‘सिमसिमे पानीमा’ चर्चित छ । उनले यो गीत गायक प्रमराजा महतसँग दोहोरी पनि गाएकी थिइन् ।
म्युजिक नेपालले निकालेको यो गीतमो कपिराइट विवादसँगै मुद्दा पनि परेको थियो । यसको कपिराइट शाहसँगै छ ।








प्रतिक्रिया