काठमाडौं, ३० वैशाख । संवैधानिक परिषदसम्बन्धी विधेयक अघि बढाउन प्रमुख तीन राजनीतिक दल सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतको आइतबारको बैठकमा संवैधानिक परिषदसम्बन्धी विधेयक अघि बढाउन सहमति जुटेको हो । जसअनुसार संवैधानिक परिषदमा बहुमतले निर्णय गर्न सक्ने पुरानै व्यवस्थालाई निरन्तरता दिने सहमति भएको छ ।
सरकारले संवैधानिक परिषदको बैठक बस्न, एजेण्डा तय गर्न र निर्णय गर्न प्रधानमन्त्रीको सहमति अनिवार्य हुने गरी विधेयक ल्याएको छ । याे विधेयक हुबहु पारित गर्ने विषयमा माओवादी र कांग्रेस पछि हटेसँगै सहमति भएको हो ।
अब प्रधानमन्त्री असहमत भए पनि बहुमतले निर्णय लिन सक्नेछ । संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, सभामुख, प्रधानन्यायाधीश, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख रहन्छन् ।
संवैधानिक परिषदसम्बन्धी विधेयकमा सहमति भएपछि संसदीय समितिको नेतृत्वलगायतका विषयमा समेत सहमति जुटेको बताइएको छ ।







प्रतिक्रिया