३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुनकोशी दुर्घटनामा भुर्तेलको शव ८ दिनपछि भेटियो, तीनै जनाको सनाखत



२७ जेठ । सुनकोशीमा जिप दुर्घटना हुँदा बेपत्ता भएका सीटीईभीटीका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेलको शव ८ दिनपछि भेटिएको छ । उदयपुरको ताप्ले गाउँपालिका ५ निवुवाटारको सुनकोशी नदी किनारमा भुर्तेलको शव फेला परेको हो ।

शनिबार भुर्तेलको शव उदयपुर कटारी अस्पतालमा पोस्टमार्टमपछि सनाखत गरी परिवारलाई बुझाइएको छ । सँगै यात्रामा रहेका सीटीईभीटीका प्रशासन शाखा निर्देशक कृष्ण केसी र विद्युत प्रशिक्षक भानु पौडेलको शव यसअघि नै सशस्त्र प्रहरीको गोताखोर टोलीले घटनास्थलबाट एक सय ५० मिटर तल जिपसँगै फेला पारेको थियो ।

८ दिनअघि अघिल्लो शुक्रबार भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको जिप मध्य पहाडी लोकमार्गको खुर्कोट– घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ७ को लौकुनमा दुर्घटना हुँदा सीटीईभीटीका तीन अधिकारीहरूको मृत्यु भएको हो । जिपका चालक भने दुर्घटनाकै क्रममा नदीमा पौडिएर बाँच्न सफल भएका थिए ।

दुर्घटनापछि जिप र यात्रु बेपत्ता हुँदा सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद व्यवस्थान टोलीले सुनकोशी नदीमा पाँच दिनपछि जिप र दुई यात्रुको शव फेला पारेको थियो । त्यसमा सवार एक जनाको शव भने शनिबार भेटिएको हो ।

खोजीको क्रममा सुरक्षाकर्मी टोलीले सुनकोशी नदीको बहावलाई नै अन्यत्र डाइभर्ट गराएको थियो । बेपत्ताहरूको खोजीको क्रममा करिब २० लाख रुपैयाँ खर्च भएको बताइएको छ । यसका लागि चारवटा स्काभेटर, तीनवटा जेसीबी, डोजर, पाँचवटा टिपर र ट्यााक्टरको प्रयोग गरिएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।