१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा रोपाई सुरु



 

१ असार । यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।

गत जेठ ३२ गतेदेखि परेको ठूलो वर्षका कारण खेतमा पानी भरिएपछि किसानलाई यतिखेर धान रोप्ने चटारो परेको छ । जेठ महिनामा वर्षा नभएर धानको बीउ ब्याडमै मरेको र डढेपछि धानको बीउको अभाव भने भएको किसानको भनाइ छ ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलका किसान सानुकाजी कार्कीले घामले धानको बीउ डढेर कम भए पनि रोपाई भने नरोकिएको बताउछन् । उनले ब्याडमा रहेका छोटा बीउसमेत रोपेर धान रोपाइँलाई किसानले तीव्रता दिएको बताएका छन् ।

धानखेतीका लागि नभई नहुने रासायनिक मलकोसमेत किसानले अभाव खेपिरहनुपरेको उनको भनाई छ । उनले भने, “पानी परेर खेतका गरा भरिएपछि किसानलाई धान रोपाइको चटारो परेको छ, यतिखेर रासायनिक मल भने आवश्यकताअनुसार पाइएको छैन, धानको बीउको अभाव रहे पनि धान रोपाइँको चटारो चलेको बताए ।

चाँगुनारायण नगरपालिका ४ छालिङमा खेतमा रोपाइँ गरिरहेका भक्तपुर नगरपालिकाका किसान कल्पना वासीले खेतका आली भरिएपछि रोपाइँमा किसान व्यस्त भएको बताए । उनले धान रोपाइँमा आवश्यकपर्ने मल मात्र नभई जनशक्ति पनि कम भएको बताए ।

विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस वर्ष जेठ अन्तिममा पर्याप्त पानी परेपछि असार १५ सम्ममा भक्तपुरका सबै क्षेत्रमा रोपाइँ सम्पन्न हुने अवस्था रहेको चाँगुनारायण नगरपालिका ९ का किसान सानुभाई गिरीले बताउछन् ।

कतिपय किसानको धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । सिँचाइ अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्थामा यस वर्ष आकाशे पानीले नै असार सुरु हुनेबित्तिकै खेतमा पानी भरिएपछि किसान रोपाइँमा लागेका हुन् । उनले धान रोपाइँमा आवश्यक पुरुष र महिला जनशक्ति कम भएपछि समस्या आएको बताए ।

सूर्यविनायक नगरपालिका ८ नँखेलका किसान सम्पूर्ण थापाले खेतमा काम गर्ने ज्यामी नपाइँदा समस्या परेको बताए । उनले भने, “खेतमा हाल्ने मल पर्याप्त छैन, काम गर्ने जनशक्ति छैनन्, यस्तो अवस्थामा पनि धान रोप्नै प¥यो ।”

खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन् । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानलाई सताएको छ ।

धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउनसके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउनसक्ने बताउछन्, कृषि प्राविधिक हरिकृष्ण नेपाल । उनले पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको बताउँदै सरकारले धान रोप्न तथा हिलो सम्याउने प्रबिधि सहुलियतमा ल्याउनसके किसानलई सहज हुने र समयमै धान रोप्न सहज हुने बताए ।

भक्तपुरको व्यासीमा धान रोपाइँ गर्दै गरेका किसान धनकुमारी श्रेष्ठले सिँचाइ नहुँदा खेतमा भरिएको पानी सुक्ला भनेर छोटो धान रोपाइँ गरिएको बताए । धान रोपाइँ छिटो भएपछि किसान भने खुसीमा रहेका छन् ।

 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : २७ बजे