५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सन्तोषीले घरमै पाइन् नागरिकता



 

१३ असार । नुवाकोटको तारकेश्वर गाउँपालिका ६ की शारीरिक रूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् ।

जन्मजात नै शारीरिकरूपमा पूर्ण अशक्त भएका कारण हिँडडुल गर्न नसक्ने २१ वर्षीया रिमाललाई प्रमुख जिल्ला अधिकारी किरण थापाले मङ्गलबार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरे । उक्त वडाका वडाध्यक्ष नारायणप्रसाद रिमालले जिल्ला प्रशासन कार्यालयमा पेस गरेको आवश्यक कागजातसहितको सिफारिस तयार गरेसँगै उनीलाई प्रजिअ थापा, सहायक प्रजिअ बेदनिधि अधिकारी, प्रशासकीय अधिकृत सुरेश खतिवडासहितले घरमा पुगेर आवश्यक प्रक्रिया पूरा गराई नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका हुन् ।

शारीरिकरूपमा पूर्ण अशक्त भएकी रिमाललाई नागरिकताको अभावमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्तावापतको रकम पाउन समस्या भएको जानकारीमा आएपछि घरमै पुगेर नागरिकता उपलब्ध गराइएको प्रजिअ थापाले बताए । शारीरिकरूपमा कमजोर भएका तथा हिँडडुल गर्न नसक्ने नागरिकको हकमा घरमै गएर नागरिकता प्रदान गर्ने नीति रहेको उनले बताए ।

नागकिरता प्राप्त भएपछि खुसी हुनुभएका सन्तोषीका बुवा तोयबहादुरले असक्त छोरीलाई स्याहारसुसार तथा रेखदेखमा समस्या हुने गरेको बताए । “राज्यबाट उपलब्ध हुने भत्ताले सरसफाइका सामग्री खरिद गर्नसमेत पुग्दैन”, उनले गुनासो गरे, “छोरीको शरीर कमजोर भएकाले पौष्टिकयुक्त खानेकुरा खुवाउनुपर्छ । एक जना हेरालु खटिनुपर्छ । दीर्घकालीन सहयोगको कार्यक्रम भए लाभ पुग्ने थियो ।”

 

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ३ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।