१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा अपराधिक क्रियाकलाप रोक्न प्रशासन र राजनीतिक दलका नेताहरूद्वारा पाँचबुँदे निर्णय 



शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण कार्यमा सबै राजनीतिक दलहरूले समन्वयकारी भूमिका निर्वाह गर्ने, समाजमा विद्यमान दण्डहीनताको निवारणका लागि प्रचलित कानूनको पालना गर्न वा गराउन सम्पूर्ण राजनीतिक दलहरूले आफ्नो सङ्गठनको तल्लो तहसम्म आवश्यक चेतना प्रवाह गरी अग्रणी भूमिका निर्वाह गर्ने निर्णय भएको
२७ असार । भक्तपुर जिल्लालाई जघन्य अपराध तथा गैरकानूनी कार्यमा शून्य सहनशीलता कायम गर्दै अवैध गतिविधि रोक्न सुरक्षा निकाय र राजनीतिक दल सहमत भएका छन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आज प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा भक्तपुर जिल्लामा क्रियाशील राजनीतिक दलसँग भएको समन्वय बैठकमा भक्तपुरलाई अपराधबाट मुक्त राख्न पाँचबुँदे निर्णय गर्दै प्रशासन र राजनीतिक दलका नेताहरू सहमत भएका हुन् ।
प्रशासन र दलका नेताबीच भएको समन्वायत्मक बैठकमा कानूनविपरीतका जघन्य अपराध तथा गतिविधिमा शून्य सहनशीलता र निष्पक्षता कायम गर्ने, सामान्य विवादका घटनाको सन्दर्भमा नियमानुसार मेलमिलाप गर्न सकिने भएमा सम्बन्धित पक्ष, स्थानीय प्रशासन, प्रहरी एवं राजनीतिक दलहरूबीच सहकार्यमार्फत छलफल गरी समाजमा अमनचैन र शान्ति सुरक्षाको प्रत्याभूति गराउन दलहरूले जिम्मेवार भूमिका निर्वाह गर्ने निर्णय भएको प्रजिअ रिजालले जानकारी दिएका छन् ।
त्यसैगरी जिल्लाको शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण कार्यमा सबै राजनीतिक दलहरूले समन्वयकारी भूमिका निर्वाह गर्ने, समाजमा विद्यमान दण्डहीनताको निवारणका लागि प्रचलित कानूनको पालना गर्न वा गराउन सम्पूर्ण राजनीतिक दलहरूले आफ्नो सङ्गठनको तल्लो तहसम्म आवश्यक चेतना प्रवाह गरी अग्रणी भूमिका निर्वाह गर्ने निर्णय भएको उनले जानकारी दिए ।
त्यस्तै जिल्लाको विकास निर्माण कार्य यथासमयमै तोकिएको गुणस्तर कायम गरी सम्पन्न गर्नका लागि सबै दलहरूका तर्फबाट अनुगमन, आवश्यक समन्वय तथा सहजीकरण गर्ने, जिल्लाभित्र लागुऔषध बेचबिखन तथा सेवन, कालोबजारी, तस्करी, नाफाखोरी, गुणस्तरहीन खाद्यान्नलगायत उपभोग्य सामान बेचबिखन, वनजन्य, नदीजन्य र खानीजन्य पदार्थको अवैध उत्खनन एवं ओसापसार आदि अवैध क्रियाकलाप हुन नदिने वातावरण सिर्जना गर्ने तथा त्यस्ता गतिविधि भएको पाइएमा समयमै सम्बन्धित निकायमा जानकारी गराउने र कारबाही गर्न कतै दबाब सिर्जना नगर्ने सहमति भएको छ ।
सरकारी, सार्वजनिक जग्गा संंरक्षणमा लागेका व्यक्तिको सुरक्षा गर्ने, प्रहरी, प्रशासन र स्थानीय तहहरूले सार्वजनिक जग्गा संरक्षण गर्न, गराउनका लागि तदारुकता देखाउने, यस कार्यमा जिल्लास्थित सबै राजनीतिक दलहरूले समेत समन्वयकारी र महत्त्वपूर्ण भूमिका निर्वाह गर्न राजनीतिक दल सहमत भएका छन् ।
बैठकमा प्रमुख जिल्ला अधिकारी रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, नेपाली कांग्रेसका सचिव सुशील बस्नेत, नेकपा (एमाले)का सचिव मोहनवीर श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) जिल्ला संयोजक सुनिल गोठे, राष्ट्रिय स्वन्त्रत पार्टीका प्रतिनिधि साजन विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष न्हुछेभक्त फोजु, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  २ : ०२ बजे