४ साउन । व्यवसायी दीपक मल्होत्राले भन्सारमा जाँच पास भइसकेको अवस्थामा बरामद गरिएको सुन प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । सुन प्रकरणमा नाम मुछिएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै व्यवसायी मल्होत्राले सो आरोप निराधार रहेको बताएका हुन् ।
सुन तस्करीमा आफ्नो नाम नियोजितरुपमा जोडिएको हुन सक्ने उनले बताए । उनले केस डाइभर्ट गर्न सुन बरामद प्रकरणमा आफ्नो नाम जोडिएको हुनसक्ने पनि बताए ।
उनले एकै जनाले अर्बौं पर्ने एक क्विन्टल सुन ल्याउन नसक्ने दाबी गर्दै तस्करीमा आफ्नो संलग्नता पनि इन्कार गरे । मल्होत्राले आफ्नो चरित्र हत्या गरिएको बताउँदै कानूनी उपचारको बाटो खोज्ने पनि बताए ।
आफूले गलत नगरेको बताउँदै उनले गल्ती भेटिए नेपालको कानूनबमोजिम जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए । राजस्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर त्रिभुवन विमानस्थलबाट निस्केको ८० देखि १०० किलो सुन बुधबार सिनामंगलबाट बरामद गरेको थियो ।







प्रतिक्रिया