२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुन तस्करी प्रकरणका दोषीलाई कुनै पनि हालतमा कारबाही हुन्छः गृहमन्त्री



२३ साउन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताए ।

उनले भने, “सरकार अनुसन्धानमा केन्द्रित हुन्छ, सबैले सकारात्मक वातावरण बनाऔँ, कसैलाई छुट नदिने गरी जाऔँ, पहिचान र काबाही गरिछाडौँ ।” राज्यका निकायलाई सबैले विश्वास गर्नुपर्नेमा जोड दिँदै उनले समानान्तर समिति बनाउनु उचित नहुने बताए । “निर्धारित समयभित्र सिआइबीले अनुसन्धान गर्दा कुनै दुर्नियत देखियो वा छानबिनलाई तार्किक निष्कर्षमा पुर्‍याउन सकेन भने नयाँ शिराबाट वहस गरौँ”, उनले भने, “तस्करी र भ्रष्टाचारीलाई छुट दिन हुँदैन, यस प्रकरणलाई विचलित हुन नदिऔँ ।”

उनले सबैको सकारात्मक दृष्टिकोण र समर्थनका साथ यस प्रकरणलाई तार्किक निष्कर्षमा पुर्‍याइने प्रतिबद्धता व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले विद्युतीय चुरोट (भेप) भित्र सुन ल्याइएको विषयमा दोषी देखिएका कारबाहीको दायरामा आउने प्रतिबद्धता व्यक्त गरे । “यस प्रकारको गतिविधिको पुनरावृत्ति नहोस् भन्नाका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र सुरक्षा र व्यवस्थापनलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ । त्यसलाई सुधार गर्न आवश्यक नीति, निर्णय र कार्ययोजना निर्माण गर्नुपर्नेछ”, उनले भने ।

 

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ४ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।