२३ साउन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताए ।
उनले भने, “सरकार अनुसन्धानमा केन्द्रित हुन्छ, सबैले सकारात्मक वातावरण बनाऔँ, कसैलाई छुट नदिने गरी जाऔँ, पहिचान र काबाही गरिछाडौँ ।” राज्यका निकायलाई सबैले विश्वास गर्नुपर्नेमा जोड दिँदै उनले समानान्तर समिति बनाउनु उचित नहुने बताए । “निर्धारित समयभित्र सिआइबीले अनुसन्धान गर्दा कुनै दुर्नियत देखियो वा छानबिनलाई तार्किक निष्कर्षमा पुर्याउन सकेन भने नयाँ शिराबाट वहस गरौँ”, उनले भने, “तस्करी र भ्रष्टाचारीलाई छुट दिन हुँदैन, यस प्रकरणलाई विचलित हुन नदिऔँ ।”
उनले सबैको सकारात्मक दृष्टिकोण र समर्थनका साथ यस प्रकरणलाई तार्किक निष्कर्षमा पुर्याइने प्रतिबद्धता व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले विद्युतीय चुरोट (भेप) भित्र सुन ल्याइएको विषयमा दोषी देखिएका कारबाहीको दायरामा आउने प्रतिबद्धता व्यक्त गरे । “यस प्रकारको गतिविधिको पुनरावृत्ति नहोस् भन्नाका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र सुरक्षा र व्यवस्थापनलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ । त्यसलाई सुधार गर्न आवश्यक नीति, निर्णय र कार्ययोजना निर्माण गर्नुपर्नेछ”, उनले भने ।








प्रतिक्रिया