२३ साउन । काठमाडौंको तारकेश्वर नगरको गोलढुङ्गाबाट नक्कली नोटसहित ३ जना पक्राउ परेका छन्। तारकेश्वर ५ स्थित गोलढुङ्गा नगिनी खोला आगडि बाट मंगलबार सांझ सशस्त्र प्रहरी बलको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उक्त स्थानमा हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ जिल्ला दिप्रुङ गाउँपालिका ५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दि गाउँपालिका ०२ का सुवास गुरुङ र रामेछाप गोकुल गंगा गाउँपालिका–१ का मदन दमाई गरी तीन जना नक्कली नोटसहित पक्राउ परेका हुन्।
उनीहरूको डेराबाट नेपाली रूपैयाँ एक हजारको १ सय ८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २ सय थान बरामद भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
यसैगरी मोबाइल ४ थान, सिमकार्ड १० थान र २२० सीसीको बा ६५ प ९०२७ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद भएको छ ।
नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकोले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याइ राखेको हुन सक्ने आशंका गरिएको छ।








प्रतिक्रिया