८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ संसारभर विशेष प्रदर्शन हुने



काठमाडौं

३१ भदौं। नेपाली ग्रामीण भेगको समसामयिक कथामा निर्माण गरिएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ नेपालका मुख्य शहरसँगै बाहिरी देशमा पनि विशेष प्रदर्शन गरिने भएको छ ।
सबै नेपालीले मनन् गर्नुपर्ने कथामा डकुमेन्ट्री सर्ट फिल्म बनेको हुनाले यसलाई स्वदेशसँगै नेपालीहरुको बसोबास रहेको अन्य देशमा पनि विशेष प्रदर्शन गर्न लागिएको निर्देशक रामजी ज्ञवालीले जानकारी दिए । ‘अहिले हाम्रो गाउँ एक्लो छ । एक्लो गाउँमा धेरै कथा छन्, हामी एउटा कथा बोल्दैछौं, जुन कथा असाध्यै दर्दनाक छ’ ज्ञवालीले भने, ‘यो कथालाई सबैले मनन् गरुन भन्ने सोँचले नै विशेष प्रदर्शन गर्न लागेका हौं ।’ आनन्द राज प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको ‘रित्तो गाउँ’को फस्ट लुक पोस्टर सार्वजनिक गरेसँगै निर्माण टिमले आफ्नो योजना सार्वजनिक गरेको हो ।
आनन्द राजले राम्रो इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण गरेको फिल्मको यसको पोस्टरमा एक महिलाले टुकी बालेर केही खोज्दै गरेको देखिन्छ । उक्त भूमिकामा कलाकार हिउँवाला गौतमलाई मात्रै देखाइएको छ । पोस्टर सार्वजनिक भएपछि निकै चर्चा चलेको छ । ‘रित्तो गाउँ’ ले नेपालका धेरै पहाडी भेगमा भोग्नुपरेको कठोर यथार्थलाई गहिरिएर प्रस्तुत गर्न खोजेको सार्वजनिक पोस्टरबाट अनुमान लगाउन सकिन्छ । ‘रित्तो गाउँ’मा अहिलेका चर्चित अभिनेता मुकुन भुषाल, पुराना कलाकार सुवास गजुरेल र नव–अभिनेत्री सविना राउतलाई पनि फिचर गरिएको छ ।
निर्माण टिमले फस्टलुक पोस्टरबाहेक कुनैपनि प्रकारको प्रमोशनल सामग्री सार्वजनिक नगर्ने जानकारी दिएको छ ।
रामजी ज्ञवालीको कथा तथा निर्देशनमा निर्माण भएको यस फिल्मका सहायक निर्देशक दिनेश वहादुर रावत हुन् भने डिओपी निरज कँडेल हुन् । निर्देशक ज्ञवालीले यसअघि डार्कमुन, हनिमून, आराध्या जस्ता चर्चित सर्टफिल्म निर्माण तथा केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । उनी एक दशक बढी समयदेखि पत्रकारिता पेशामा समेत आवद्ध छन् ।
‘रित्तो गाउँ’लाई आनन्द राज शर्मा वाग्लेले निर्माण गरेका हुन् । यसमा प्रेम भुर्तेल, नारायण कँडेल, कुनाल कायल लगायत कार्यकारी निर्माताको रुपमा छन् । निर्माता आनन्द राज शर्मा वाग्लेले पहिलो विशेष प्रदर्शन काठमाडौंबाट हुने र यसबाट उठेको सम्पूर्ण रकम नेपाली क्रिकेट टोलीलाई हस्तान्तरण गरिने प्रतिक्रिया दिए । उनले भने, –‘हामी अहिले के कसरी गर्ने भनेर सल्लाह गर्दैछौं । तर, पहिलो शो बाट उठेको रकम क्रिकेट क्षेत्रमा योगदान गर्ने योजना छ । त्यसपछिका हरेक शो बाट उठेको रकमको केही प्रतिशत हामीले समाजसेवामा लगाउने तयारी गरेका छौं ।’
८ दिन छायांकन गरिएको यस डकुमेन्ट्री फिल्म तत्कालै युट्युवमा सार्वजनिक नहुने निर्माण टिमले जनाएको छ । राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको यस फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका हुन् । यस प्रोजेक्टका लागि निर्माण टिमले २० लाख भन्दा धेरै लगानी गरेको निर्माता आनन्द राज शर्मा वाग्लेले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ५ : २८ बजे