३ माघ २०८१, बिहिबार | Fri Jan 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थिमिका बालकराम नानी श्रेष्ठले दोस्रोपटक जिब्रो छेड्दै



१२ असोज । भक्तपुरको मध्यपुर थिमिमा शुक्रबार राति जिब्राे छेड्ने जात्रा हुने भएको छ । प्रत्येक वर्ष येंया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा हुने गर्दछ । जात्राको क्रममा जिब्रो छेड्ने स्थान मध्यपुर थिमि नगरपालिका– ५ दिगु टोलस्थित दिगुभैरब मन्दिर अगाडिको डबाली हुने गर्दछ । विस्केटमा हुने जिब्रो छेड्ने जात्रा दिउँंसो हुने गरे पनि यहाँं भने राति मात्रै जात्रा हुने गर्दछ ।

यसवर्ष मध्यपुर थिमि नगरपालिका– ५ चोडे टोल निवासी बालकराम नानी श्रेष्ठले दोस्रोपटक जिब्रो छेड्ने साहसिक कार्य गर्दैछन् । यसअघि उनले पहिलोपटक २०७५ सालमा जिब्रो छेडेका हुन् । जिब्रो छेड्ने दिन जिब्रो छेड्ने व्यक्तिले दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गरिन्छ । यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नु पर्दछ । जिब्रो छेड्ने दिनमै बेलुकापख साँझ बालकुमारीदेखि दिगु भैरवसम्मको स्थानमा बत्ती दिन गइन्छ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ । यो पूजा पश्चात जिब्रो छेड्ने व्यक्तिमा दैविक शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरव सामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पुर्‍याइन्छ ।

सयौं जनमानस सामु जामनः गुरु, नायःपमा, नकर्मी नाईकेको उपस्थितिमा नकर्मीले बनाएको १० इन्च लामो सुईरोबाट कमी नायोले जिब्रो छेडाउने काम हुन्छ । जिब्रो छेडेपछि झण्डै ४० किलोग्रामको भ्ये (महादीप ) बोक्न लगाई उसको इच्छाअनुसार नगरपरिक्रमा गराउने गर्दछ ।

यसवर्ष जिब्रो छेड्ने व्यक्ति बालकराम नानी श्रेष्ठले जिब्रो छेडिसकेपछि पशुपति जान इच्छा गरेकोले उनको इच्छा अनुसार पशुपतिमा राति नै पैदल जाने छन् । जिव्रो छेडिसकेपछि यसवर्ष मध्यपुर थिमि नगरपालिका ५ दिगुटोलबाट चोडे टोलको कामदेव, महालक्ष्मी, निलवर्ष गणेश मन्दिर दर्शनसँंगै सिद्धिकाली माइको मन्दिर भई सिद्धिकाली चोक पुग्नेछ ।

त्यहाँंबाट पुनः सानोठिमी, सिनामंगल, महादेव चोक हुँंदै एयरपोर्ट १० नम्वर गेट, सान बैंक्वेट चोक हुँदै एयरपोर्टसँंगैको बाटो हुँंदै गुहेश्वरी मन्दिर दर्शन गरी पशुपतिनाथ दर्सन गर्ने र सोही बाटो भई मध्यपुर थिमि फर्कने कार्यक्रम तालिका रहेको जात्रा व्यवस्थापन समितिका संयोजक चन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । राति नै पैदल हिँडेर हुने यो यात्रा आवत र जावत गरी कुल मध्यपुर थिमिदेखि काठमाडौंसम्म मात्रै १७ किलोमिटर रहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १० : २९ बजे