काठमाडौँ
१७ कात्तिक । दसैँपछाडि नयाँ नेपाली चलचित्र प्रर्दशनको लागि कुनै पनि चलचित्र तयार नभएपछि तिहारसम्मै चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘परदेशी २’ चल्ने भएका छन् ।
च्लचित्र ‘परदेशी २’ गत असोज २६ गतेदेखि प्रर्दशन भइरहेको छ भने चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ कात्तिक ४ गते दशैंको फुलपातीबाट प्रर्दशन भइरहेको छ ।
दसैँलाई लक्षित गर्दै प्रदर्शनरत यी दुवै चलचित्रहरुले दर्शकको साथ प्राप्त भइरहेको निर्माण पक्षले दाबी गरेका छन् । तिहारमा मात्र प्रदर्शन हुने भएकाले एकसाता अझै ती दुई चलचित्र नै रहनेछन् ।
खगेन्द्र लामिछानेले निर्माण तथा लेखन गरेका चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’लाई दीपेन्द्रकुमार खनालले निर्देशन गरेका हुन् । यस चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारले अभिनय गरेका छन् ।
“दर्शकले रुचाउनु भएकै कारण पशुपति प्रसादको कथालाई निरन्तरता दिएका हौँ । हामीले मौलिक नेपाली कथालाई पर्दामा प्रस्तुत गरेका छौँ”, लेखक लामिछानेले भने ।
चलचित्र ‘परदेशी २’ चौथो सातामा प्रदर्शनरत छ । नरायण रायमाझीले निर्देशन गरेको चलचित्रमा केकी अधिकारी, दिलीप रायमाझी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, प्रकाश सपुत, नीर शाह, रमा थपलियालगायत कलाकारले अभिनय गरेका छन् ।
चलचित्रमा उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको पखाइमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको निर्देशक रायमाझीले बताए ।
उनले भने, “मेरा अघिल्ला चलचित्र झैँ मौलिक कथालाई नै पर्दामा ल्याए । अहिले चलचित्र भवनमा पुग्दा दर्शकमार्फत पाइरहेको प्रतिक्रियाले उत्साहित छु । उहाँहरू आफ्नै गाउँ समाजको कथालाई पर्दामा हेर्न पाउँदा खुसी हुनुहुन्छ ।” चलचित्रलाई रमेश बिजी लेखेका हुन् ।
–––
प्रतिक्रिया