२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ



१९ मंसिर । रुसी सेनामा नेपाली पठाउने गिरोहका सदस्यहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझसम्म नेपाली युवाहरुलाई अवैध रुपमा रुसी सेनामा भर्तीका लागि पठाउने गिरोहका १२ जना पक्राउ परेका छन् ।

उमहाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी पक्राउ परेका हुन् । यस्तै गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी पनि पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुले सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर नेपाली युवालाई रोजगारीको प्रलोभन दिने गरेको बताइएको छ । गिरोहले नेपालीसँग रकम लिएर उनीहरुले भारतको नयाँ दिल्ली हुँदै रुससम्म लैजाने गरेको प्रहरी अधिकृतहरु बताउँछन् ।

नेपाली युवालाई भिजिट भिसामा रुस लैजाने र सेनामा भर्ती गराउन भूमिका खेल्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । सरकारले भिजिट भिसामा रुस जानेलाई फर्काउन थालेको छ । रुसी सेनामा भर्ती भएका ६ जना मारिएको जानकारी आएपछि सरकारले सेनामा रहेका नेपालीहरुलाई तत्काल फिर्ता पठाउन रुसी सरकारलाई कूटनीतिक नोट पठाएको छ ।

मानव तस्कर समूहले रुस पठाउन प्रतिव्यक्ति १२ लाख रुपैयाँ असुल गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको बताइन्छ । सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा भर्ती हुन ५३ नेपाली दिल्ली हुँदै रुस गएको सूचना आफूसँग रहेको बताएका थिए ।

प्रहरीले प्रधानमन्त्री कार्यालयलाई मंगलबार रुस पठाउने समूह पक्राउबारे रिपोर्ट गरेका छन् । प्रहरीमा कुनै पनि पीडितले उजुरी नदिएका कारण उनीहरूमाथि अभद्र व्यवहारमा दर्ता गरी अनुसन्धान गरिरहेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीको मानव बेचबिखन ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी गरी तीनवटै निकायलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ४ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।