११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’



भक्तपुर
२३ मङ्सिर । भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ ।

पक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको हनुमन्ते फाँटमा हाँस प्रजातिको दुर्लभ चरा स्वेतमाथा कलहाँस भेटिएको जानकारी दिएका छन् ।

कलहाँस नेपालमा पहिलोपटक सन् २००४ मार्च २४ मा देखिएको थियो । त्यतिबेला कोशी टप्पु वन्यजन्तु आरक्षणमा दुईवटा कलहाँस भेटिएका थिए । गर्मी मौसममा निकै माथि उचाइमा उडेर बास बस्ने कलहाँस चरा गत वर्ष नारायणी नदी आसपास क्षेत्रमा चारवटा पाइएको थियो ।

रुस, साइबेरियालगायत अति चिसो मुलुकबाट जाडो छल्न नेपाल प्रवेश गर्ने क्रममा हनुमन्तेमा आइपुगेको बताउँदै पक्षीविज्ञ डा कमलराज गोसाइ, सुजन श्रेष्ठ र सूर्यमान श्रेष्ठले हनुमन्तेमा यी चराको तस्वीरसमेत कैद गरेका छन् ।

गोसाइका अनुसार यो चरा चिसो मौसममा बस्न नसक्ने भएकाले चिसो छल्न नेपाल आएको हो । कलहाँस हनुमन्तेमा आएपछि हिमालयन नेचर, वर्ड कन्जरभेसन नेपाल र विश्वकै चराहरूको अवस्थाबारे रेकर्ड राख्ने ई–वर्ड नेपालले अभिलेख गरेको उनले बताए । करिब तीनदेखि चार केजी तौल हुने कलहाँस जाडो छल्न नेपाल आएपछि करिब दुई महिनापछि गन्तव्यतर्फ फर्कने गर्दछ । (समाचारसँग सम्बन्धित तस्बीर पक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठबाट प्राप्त भएको हो।)

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  १ : २७ बजे