२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निकुञ्जभित्रका बस्तीमा जनावरको त्रास



तुलसीपुर (दाङ)
१३ पुस । बाँके राष्ट्रिय निकुञ्जभित्रका दाङका बस्तीमा जङ्गली जनावरको सधैँ त्रास हुने गरेको छ । निकुञ्जको बीच भागमा बस्ती हुँदा आफूहरुले लगाएको अन्नबाली नष्ट गर्ने गरेको बबई गाउँपालिका १ सिमलकुनाका टेकबहादुर बुढाले बताए ।

“निकुञ्जको वरिपरि बस्ती छ, हामीले लगाएको बालीनाली जनावरले सखाप पार्ने गरेका छन्”, उनले भने, “यसतर्फ सरकारको ध्यान जानुपर्छ ।” प्रभावित क्षेत्रमा जालीको व्यवस्थापन भए जनावरले सताउने समस्या न्यून हुने बुढाको भनाइ छ ।

बबई गाउँपालिका १ बञ्चरे, क्युरेनी, गौजे, सिमलकुना, जिला, मलै, कप्तानेलगायतका बस्ती राष्ट्रिय निकुञ्जका बीचमा पर्छन् । यी बस्तीमा बर्सेनि जनावरले सताउने गरेको स्थानीय शोभा पुनले बताए । यी बस्ती दाङका विकटमध्येका बस्ती हुन् । जहाँ अहिलेसम्म बिजुल िपुग्न सकेको छैन । बीचबीचमा पर्ने खोलामा पुल नहुँदा यातायातका साधन पनि सहजै आवतजावत गर्न सक्ने अवस्था छैन । खानेपानीको उस्तै समस्या छ । नजिकै बबई नदी बग्ने भए पनि बिजुली नहुँदा त्यहाँका नागरिकले सिँचाइको सुविधा पाउन सकेका छैनन् ।

नदी आसपासका बस्तीमा तटबन्ध नहुँदा स्थानीयमा त्रास छ । “टावर नहुँदा फोनले पनि राम्रोसँग काम गर्दैन । उपचारका लागि हापुरे बजार वा तुलसीपुर पुग्नुपर्छ”, पुनले भने ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले चालु आर्थिक वर्षमा ती बस्तीमा पुग्न बबई नदीमा पुल निर्माणको काम अघि बढाइएको बताए । पुरन्धारा झरना हुँदै सिमलकुना, जिलासम्म पुग्ने सडक स्तरोन्नतिका लागि रु एक करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ३ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।