११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको डोलेश्वरमा भारतीय संस्थाहरुको आयोजनामा महायज्ञ सुरु



भक्तपुर
२५ पुस । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा भारतीय संस्थाहरुको आयोजनामा आजदेखि श्रीमद् भागवत कथा ज्ञान महायज्ञ सुरु भएको छ । भारतको मध्यप्रदेशस्थित श्रीकृष्ण गौशाला, महाराष्ट्रस्थित चैतन्य सेवा आश्रम र गुजरातस्थित माँ कालिधामले संयुक्त रुपमा महायज्ञ आयोजना गरेका हुन् ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको सहयोगमा भारतबाट आएको चैतन्य सेवा आश्रम महाराष्ट्रका संरक्षक ब्रम्हचारीसन्त सन्तोष चैतन्यद्वारा भागवत कथा ज्ञान वाचन गरिएको छ ।

बागमति प्रदेशसभाका सदस्य किरण थापाले महायज्ञको उद्घाटन गर्दै भारतमा रहेको केदारनाथ शरीर भएको जनाउँदै केदारनाथको शिर भाग डोलेश्वरमा रहेको बताए । उनले भारतबाट आएर यहाँ महायज्ञ गर्नु धार्मिक पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण उपलब्धि भएको जानकारी दिए ।

भारतबाट आएको भीमाशङ्कर महाराजले सन् २००९ मा डोलेश्वर मन्दिरलाई केदारनाथको शिर भाग रहेको घोषणा गरेपछि यसको चर्चा भारतमा चुलिएको थापाले बताए । त्यसयता नेपाल र भारतबाट आउने दर्शनार्थीको भीड बढ्नुको साथै भारतका विभिन्न राज्यबाट यहाँ आएर महायज्ञ गर्नु देशकै लागि उपलब्धिमूलक भएको उनको भनाइ थियो ।

महायज्ञमा सहभागी हुन आयोजकको टोलीमा गुरुसहित भारतबाट आउनु भएका दुई सय पाँच जना भक्तजनलाई समितिले निःशुल्क बसोबास एवं सुरक्षाको व्यवस्था गरेको डोलेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ३ : ४३ बजे