२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘सजिलो छैन विदेश, नछोड्नु भो आफ्नो देश’



गलेश्वर (म्याग्दी)
 ७ माघ । बर्सेनि धेरै नेपालीहरु विदेसिनुको कारण देशमा रोजगार नपाएर, आयआर्जन र जीविकोपार्जनको कुनै सम्भावना नै नदेखेर वा विदेश नगए घर व्यवहार नै चलाउन नसक्ने अवस्था आएर भइरहेको छैन ।
नेपालको स्थायी जागिर नै छोडेर, राम्रैसँग चलेको व्यापार व्यावसाय बन्द गरेर, पुर्खौदेखि कमाउँदै आएको खेतबारी बाँझै छोडेर र आफ्नै गाउँघर र सदरमुकामका स्कुल कलेजमा पढेर ‘ए प्लस’ र ‘ए’ जिपिए ल्याउन सकेका युवायुवतीहरु पनि छोटो समयमा अझ धेरै पैसा कमाउने, छरछिमेकी र साथीभाइभन्दा धनी देखिने र विदेशमा गुणस्तरीय शिक्षा आर्जन गरी स्तरीय जीन्दगी बिताउने उच्च महत्वकांक्षाका साथ विदेशिने गरेको पाइएको छ ।
हाल अमेरिकामा रहेका म्याग्दीको मङगला गाउँपालिकाका विराज सापकोटाले विदेशमा आएपछि नेपालमा अवसर र सम्भावना नै नदेखेर आएँ भन्नु झुट बोल्नु बताए । “आँट र जाँगर हुने हो भने नेपालमा सम्भावनै सम्भावना छ । नदीको ढुङ्गा बालुवादेखि वनका झाडी र जटिबुटीसम्म पैसैपैसा छ । गाउँमा छँदा ती सम्भावनाहरुलाई पहिचान गर्न सकिएन, विदेश आएर पछुताउनु परेको छ” सापकोटाले भने ।
आफ्नो विगत र वर्तमानको अवस्था बुझाउँदै सापकोटाले भने “नेपालमा मलाई राम्रै थियो, घर पाइक परेको शिक्षकको जागिर, परिवारसँग बसेर रमाइलैसँग दिनहरु बिताएको थिएँ” सापकोटाले थप्नुभयो “रु ६४ लाख खर्च गरेर अमेरिका आएँ, यहाँ आएर तीन महिना हण्डर खाएपछि बल्ल काम पाएको छु । महिनाको साढे दुई लाख जति बच्छ, ऋणको व्याज तिर्न ठिक्कै छ ।”
सापकोटाले तल्लोबाटो (गैरकानुनी बाटो) हुँदै अमेरिका आउनुभन्दा आफ्नै गाउँ ठाउँको सानो कमाइमा नै रमाउनु बढी बुद्धिमानी हुने बताए । विदेश सोचेजस्तो सजिलो नभएको बताउँदै सापकोटाले भने “कानुनीरुपमा प्रक्रिया पु¥याएर यहाँ आएकाहरु पनि सन्तुष्ट छैनन् । फेसबुकमा समुद्र किनारमा डुलेको, कारमा घुमेको, रमाएको, मीठामीठा परिकारहरु खाएको, सफा अनि महङ्गा कपडाहरु लगाएको देखिए पनि वास्तविक जीवन भने सोचेभन्दा फरक छ ।”
क्यानडाको ब्रह्मापोटनको कलेजमा अध्ययनरत म्याग्दीकी अंकिता उपाध्यायले पछिल्लो समय (सन् २०२३ सेप्टेम्वर यता) क्यानडामा अध्ययनका लागि आएका विद्यार्थीहरु काम नपाएर घरबाट पैसा मगाएर खाने र कोठा भाडा तिर्ने बाध्यतामा रहेको बताए । “यहाँ सन् २०२३ यता आएका नेपालीहरुको बिजोग छ । एक वर्षको फि लगायत अन्य गरी २०÷२५ लाख खर्च गरेर अध्ययन र कामका लागि यहाँ आएका नेपालीले कामै नपाएपछि अर्को सेमिस्टरको फि कसरी जम्मा गर्ने, कोठा भाडा कसरी तिर्ने र के खाने ? भन्ने समस्याले पिरोलिएका छन्” उनले भने “सजिलो छैन विदेश, हामीले दुःख पाए पनि अरुले नछोड्नु होला आफ्नो देश ।”
त्यसैगरी हाल साउदी अरबमा रहनुभएको सुजन मगरले जति राम्रो काम र आकर्षक तलब भनेर विदेश आए पनि मेनपावर कम्पनीले भने जस्तो केही नहुने गरेको बताए । “यहाँ १२ घण्टाको काम भए पनि १८ घण्टाको खटाइ हुन्छ, कम्पनीले भनेको जस्तोसुकै कुरा पनि मान्नै पर्छ, आफूले भनेको कुरा कसैले सुन्दैन, बिरामी भएको बेलामा समेत मेडिकलमा जाने छुट्टी पाइँदैन” मगरले भन,े “सेफ्टिी एक्युप्मेन्ट सुरक्षित र भरपर्दो नहुने, एग्रीमेन्टको पालन नगरिने, कैयौं विषाक्त रसायन भएको ठाउँमा काम गर्नु पर्ने जस्ता कैयौं समस्यासँग जुधेर काम गर्दा पनि सम्झौताको कागजमा उल्लेख गरिएको पारिश्रमिक नपाउने जस्ता समस्या रहेका छन् ।”
पछुताउनु बाहेक छैन उपाय
अध्ययन होओस् वा रोजगारी जुनसुकै उद्धेश्यले विदेश गए पनि त्यहाँ भनेजस्तो नभएपछि बल्ल नेपालको अवसर र सम्भावनालाई सम्झेर पछुताउनेहरु धेरै छन् । “विदेश जान  पाए ‘लाइफ बन्थ्यो’ भन्नेहरु विदेश आएर भनेजस्तो नभएपछि धुरुधुरु रोएको मैले देखेको छु” हाल अष्ट्रेलियामा रहनुभएका प्रेम खत्रीले भने “मैले यहाँ आएर बुझेँ, पढ्न सक्ने र गर्न सक्ने हो भने नेपालमा अवसरको कमी छैन । आफ्नो देशमा आफ्नै स्वाभिमान हुन्छ । इज्जेत, मान, सम्मान सबै पाइन्छ । दुःख पर्दा आफन्तको साथ हुन्छ, साहे गाहेमा सहयोगी हात हुन्छन् । तर, विदेशमा यी सबै कुराहरु कल्पेर बस्नुबाहेक अरु केही पाइँदैन ।”
विसं २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन र त्यसपछि प्राप्त राजनीतिक परिवर्तनले देशमा प्रशस्तै अवसर र सम्भावनाहरुको ढोका खोलेको भए पनि धेरै नेपालीले ती सम्भावना र अवसरहरुभन्दा उच्च महत्वकांक्षा र विदेश गए छिट्टै धनी बनिन्छ भन्ने बुझाइलाई महत्व दिँदा अहिलेको युवा पुस्ता देश छोडेर विदश उड्ने गरेको उहाँले बताए ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जालीले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भैसकेपछि योग्य व्यक्तिलाई अवसरको कुनै कमी नरहेको बताउछन् । उनले भने “विदेश गएर प्रशस्तै पैसा कमाउने र छिट्टै धनी बन्ने महत्वकांक्षाले अहिलेका युवाहरुले देशमा सम्भावना छैन भनिरहेका छन् । तर देशमै छन् प्रशस्तै सम्भावनाहरु । हामीले विदेश गएका युवाहरुले फेसबुकमा हालेका समुद्रका किनारमा रमाएका फोटा मात्र देख्छौं, उनीहरुले त्यहाँ भोग्नु परेका समस्या र वाध्यताहरुलाई देख्दैनौ । ती समस्या र वाध्यताहरु हामीले देख्यौं र बुझ्यौं भने विदेश जाने विषयमा हामी एक पटक गहिरिएर सोच्न बाध्य हुन्छौं ।”
नेपाली कांग्रेस म्याग्दीका नेता क्या.मिनबहादुर कार्कीको पनि समान धारणा छ । “देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि दु्रतरुपमा भैरहेको विकास र उत्पन्न भएका आयआर्जनका अवसरहरुलाई हामीले प्राथमिकतामा राख्नै सकेनौं” कार्कीले भने, “राजनीतिक सङ्क्रिणता हाबी हुँदै गयो, प्राप्त स्वतन्त्रताको सदुपयोगभन्दा दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गयो । युवा पुस्तामा छिटो धनी बन्ने र सुखसयलको जिन्दगी जिउने उच्च महत्वकांक्षाका कारण देश छोडेर विदेश जाने क्रम बढ्दै गएको हो ।”
नेपालमा स्तरीय स्कुल÷कलेजहरुको संख्या बढेको छ तर कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको सङ्ख्या घट्दै जाँदा स्नातक र स्नातकोत्तर तहका कलेजहरु खाली हुँदै गएका छन् । “विद्यालयहरुमा गणित, विज्ञान र अंग्रजी विषयका शिक्षकहरुको अभाव उत्पन्न हुन थालेको छ । प्राविधिक शिक्षालयहरुमा निर्धारित कोटा पुरा हुन सकेका छैनन् । चिकित्सा शास्त्र र इन्जिनियरिङ कलेजहरुको अवस्था पनि यस्तै छ” के वि एकेडेमीका प्रिन्सिपल बिमल शर्माले भने “सरकारले शिक्षा क्षेत्रमा यति धेरै लगानी गरेको छ । लोक सेवा आयोग र शिक्षा आयोगले वर्षेनी परीक्षा लिने र पदपुर्ति गर्न थालेको छ । तर युवाहरु भने नेपालमा सम्भावना नै छैन भनेर विदेशतिर जाँदैछन्, यो देशका लागि पनि राम्रो सङ्केत होइन ।”
बाहिरिदै गयो सम्पत्ति र जनशक्ति
नेपाल राष्ट्र वैंकले हालै प्रकाशित गरेको एक तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको छ । बैंकका अनुसार चालु आव २०८०÷८१ को पहिलो पाँचभ महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको हो । यो रकम अघिल्लो वर्षको यसै अवधिको तुलनामा रु १८ अर्ब ५४ करोड बढी हो । गतवर्ष पाँच महिनामा शिक्षामा रु २८ अर्ब ८१ करोड विदेशिएको थियो ।
यसरी वर्षेनी देशबाट जनशक्ति र सम्पत्ति दुवै बाहिरिने क्रम बढ्दै जानु देशकै लागि घातक भएको सरोकारवालाहरुको भनाइ रहेको छ । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले देशमा भएका अवसर र सम्भावनाहरुलाई युवाहरुले चिन्नुपर्ने बताउछन् । उनले भने “अब देशमा अवसरको कमी छैन, उच्च महत्वकांक्षा लिनुभन्दा पनि पूरा गर्न सक्ने सपना युवाहरुले देख्नु पर्छ । देशले दक्ष जनशक्ति मागेको छ, अब विदेश होइन आफ्नै गाउँठाउँलाई परिवर्तन गर्नेतर्फ युवाहरु लाग्नुपर्छ ।”
छ महिनामा पाँच सय ३९ जनाको मृत्यु
नियति देवकोटाकै मुनामदन खण्डकाव्यको कथानक जस्तै छ । फरक के छ भने मुनामदनमा  धन कमाउन विदेश (भोट) गएका मदन बिरामी परेर बाटोमा नै ज्यान गुमाउन बाध्य हुन्छन् । मदनलाई एक जना भोटेले घरमा राख्छ,औषधीमुलो गर्छ । सकेसम्मको सहयोग गर्छ तर अहिले विदेशमा त्यस्ता मनकारी व्यक्तिहरु भेटिदैनन् । विदेश गएका कतिपयको काम गर्दागर्दै उपचार नपाएर मृत्यु भएको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार चालु आवको पुस मसान्तसम्ममा वैदेशिक रोजगारीका क्रममा पाँच सय ३९ जनाको मृत्यु भएको छ । त्यसैगरी वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीको क्रममा बिरामी तथा अङ्गभङ्ग हुनेको सङ्ख्या दुई सय २१ रहेको छ । बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी तथा मृत्यु हुने गरेको घटना बढेका हुन् । मुख्यगरी मुटुसम्बन्धी रोग, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मिर्गौला रोग, हृदयाघात, क्यान्सर र अन्य विभिन्न कारणले वैदेशिक रोजगारीमा गएका नेपाली बिरामी र घाइते हुने गरेका पाइएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ६ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।