ललितखबर
१३ फागुन । नेपालमा समय क्रममा फरक फरक चलचित्रहरु निर्माण हुने गरेका छन् । विरलै बन्ने इतिहाँसमा आधारित चलचित्र ‘गोर्खा वारियर’ पछिल्लो शुक्रबारबाट देशभर प्रर्दशन भइरहेको छ ।
दोश्रो विश्वयुद्धका क्रममा सन् १९४९ सालमा मलाया जंगलमा भएको युद्धमा आधारित चलचित्र मिलन चाक्सले निर्देशन गरेका छन् । मलाया जंगलमा हराएका पल्टन खोज्न हिडेका सैनिकको कथाबाट चलचित्र सुरु हुन्छ । सैनिक भेटिएपछिको रोचक युद्धसँगै चलचित्र अन्त्य हुन्छ । अनकन्टार जंगलै जंगल डुलेको कथामा आधारित चलचित्र नियमित हेर्ने बानी परेका दर्शकलाई मन नपर्न पनि सक्छ । किन की यो चलचित्रमा प्रेम, रोमान्स, गीतसंगीत र रोनाधोना छैन ।
सकारात्मक पक्ष
चलचित्र नेपाली दर्शकको मुटु छामेर व्यावसायिक सफल हुन्छ वा हुँदैन भन्ने हिसाव निर्माण गरिएको देखिदैन । यद्यपी निर्माता निर्देशकले चलचित्र गोर्खा सेनामा होमिने परिवारको सद्भाव बटुल्न पनि स्वार्थ राखेका छन् । दोश्रो विश्वयुद्धको एउटा अन्तराष्ट्रिय विषयबस्तुको कथा छनौट गरेर निर्देशकले चलचित्रलाई संसारभरका दर्शकलाई नेपाली चलचित्र देखाउने मौका खोजेका हुन् । साथै वार जनराको चलचित्र हेर्ने बानी परेका अन्तराष्ट्रिय दर्शक तानेर चलचित्रको लगानी उठाउने र पैसा कमाउने उनको चलाखी लोभलाग्दो छ ।
सधै एकै प्रकृतीका चलचित्रको स्वाद चाखेका नेपाली दर्शकका लागि ‘गोर्खा वारियर‘ नौलो स्वादको चलचित्र हुन सक्छ । कल्पनाभन्दा पनि चलचित्र वास्तविकता नजिक रहेको युद्धका दृश्यले अनुभव गर्न सकिन्छ ।
च्लचित्रले युद्धकला पनि सिकाउछ । चलचित्रको दृश्यमा अन्धाधुन्द गोली चल्दैनन् । जहाँ गोलि चल्छ सैनिक जवानलाई लाग्छ अनि ऊ मर्छ । नत्र गोली छलेर भाग्छ । चलचित्रमा गोर्खा सैनिकमा काम गरिसकेका अभिनेता रितेस चाक्स छन् । त्यसैले त उनले बन्दुक समातेको गोली ठोकेकोलगायतका दृश्य बास्तविक सैनिक जवानको जस्तै लाग्छ ।
निर्देशक चाम्सले सिमित साधन श्रोतकाबीच चलचित्र राम्रो बनाउन इमान्दार प्रयास भने पक्कै गरेका छन् । ्निर्देशकले संसारले चिन्ने गोर्खा ब्राण्डलाई बिक्री गर्ने साहस गरेका छन् । भारत र वेलायतमा समेत बहादुरी देखाई रहेको गोर्खा सेनाबारे संसारले चासो राख्ने विषय छनौट गरेर निर्देशक चाम्सले नेपाली चलचित्रलाई संसारभर चासोपुर्वक हेर्न बाध्य बनाएका छन् ।
चलचित्रका विषयमा धेरै नेपाल र भारतमा समेत भिडियो रिभ्यु बनाएका छन् यसैबाट थाहा हुन्छ कि चलचित्रबारे धेरैलाई चासो छ । चलचित्र हिन्दी,अंग्रजी,कोरियनलगायत भाषामा समेत डविङ गरेर संसारभर देखाउने निर्देशकको योजना छ । जुन नेपाली चलचित्रका लागि राम्रो कुरा हो । नेपाली चलचित्र अन्तराष्ट्रिय बजारमा बिक्ने अवसर निर्देशकले ल्याउन खोजेका छन् ।
दैनिक जीवनको साना समस्या टाल्न नेपाली जवानहरुले विदेशी भूमिमा रगत र पसिना बगाइरहेको दृश्यले दर्शकको मन छुन्छ । विदेशी सैनिक कमाण्डरहरुले व्यारेकबाट आदेश दिने अनि गोर्खा सैनिकहरुले रगत र पसिना बनाएको दृश्यले नेपालीको हैसियत पनि चलचित्रमार्फत निर्देशकले देखाउन सफल छन् ।
ठाँउ ठाँउमा मलेशिन भाषा मिसाइएको छ । जसले चलचित्रलाई जीवन दिएको छ । लामो समससम्म तालिम दिएर चलचित्रको दृश्य खिचे झैं लाग्छ ।
चलचित्रमा कलाकार र निर्देशकले धेरै दुःख गरेर खिचेको अनुभव हुन्छ । रातमा झरि पारेर, भिरमा कलाकारलाई लडाएर, पानीमा डुवाएर चलचित्र खिचिएको छ ।
विपक्षी सेनासंग नडराउने सैनिक जवान जंगली जनावरदेखि डराएको दृश्यले चलचित्रलाई सजीव बनाउने कोशिस गरिएको छ ।
चलचित्रको अर्को नौलो पाटो ‘गोर्खा वारियर’ वार जनरामा निर्माण हुनु पनि हो । संसारभर युद्धका धेरै चलचित्र निर्माण भएका छन् । धेरै चलचित्र कल्पनामा आधारित बन्ने गरेकोमा यस चलचित्रमा वास्तविक युद्धको झैं दृश्य राखेर गोर्खा आर्मीको पृष्टभूमिबाट चलचित्र क्षेत्रमा संर्घषरत निर्देशक चाम्सले एउटा फरक चलचित्र बनाउने आँट गरेका छन् ।
चलचित्रका कमजोरी
चलचित्रको निर्माण पक्षले धेरै कमी कमजोरी गरेका छन् । ७५ बर्षअघिको दृश्य देखाउन गाँउले परिवेश अनुकूल बनाउन खाडीको कपडा, गरगहनासँगै क्यामेरामा धमिला दृश्य राखिएको छ । चलचित्रमा तत्कालीन समयमा टुकी बत्ती समेत गाँउमा नरहेको देखाउन दियालो बालिएको दृश्य छ । तर पटकथा र संवादमा ठेट नेपाली शव्दहरु घुसाउन विर्सेका छन् । तत्कालीन परिवेशसँगै भाषा पनि पुरानो थियो । परिमार्जित थिएन । चलचित्रको पटकथा र संवादमा कमजोरी देखिन्छ । यतिको सामान्य ज्ञान चलचित्र लेख्ने र निर्देशकलाई हुनु पथ्र्यो ।
चलचित्रको विषय गहन भए पनि कथा बबाल हो जस्तो लाग्दैन । जसरी ट्रेलर सार्वजनिक भयो । चलचित्र हेरेपछि खल्लो लाग्छ । चलचित्रमा अन्त्यमा बाहेक भयङ्कर युद्धका दृश्य छैनन् ।
चलचित्रमा हलिउडमा देखाइने युद्धका दृश्यहरुको अपेक्षा नगर्दा हुन्छ । अंग्रेजी वार जनराका चलचित्र हेरेका दर्शकले गोर्खा वारियरलाई राम्रो चलचित्र नभन्न सक्छन् ।
गोर्खालीहरुको गाथामा खुकुरीको वर्णन गरिएको भए पनि चलचित्रमा खुकुरीको प्रयोग खासै गरिएको छैन । चलचित्रको पोस्टरमा खुकुरी देखाइएको छ । तर चलचित्रमा खुकुरी चमत्कारिक युद्धकलालाई समेटिएको छैन । त्यसैले चलचित्र नूनबीनाको तरकारी झैं लाग्छ ।
चलचित्रका दृश्यहरुमा संगीत र हास्य रस मिसाएर मनोरञ्जन दिन सकिन्थ्यो । चलचित्रमा कल्पनाशिलताको प्रयोग गरेर मिठास भर्न सकिन्थ्यो । दर्शकले चलचित्रबाट मनोरञ्जन र मिठास चाहन्छ । दर्शकको ढुकढुकी निर्देशकले बुझ्ने कोसिस गरेनन् कि ? चलचित्र हेर्दै गर्दा खड्किन्छ । एक घण्टा ५० मिनेट दर्शकले जंगलको पातपतिङ्गर हेरेर दिक्क मान्छन् । चलचित्रको कथा सलल बग्न पाएको छैन । ठाँउ ठाँउमा गाँउ घरको कथा घुसाउदा दर्शकलाई के नमिलेको के नमिलेको लाग्न सक्छ । पटकथा झुर चाही छैन । उत्कृष्ट भन्ने ठाँउ पनि भेटिदैन ।
अनकन्टार जंगलको दृश्य नै दृश्यले भरिएको चलचित्र धेरैलाई मोनोटोनस अनुभव गर्छन् ।
चलचित्रको अन्त्य दमदार हुन सकेको भए दर्शकले सन्तुष्ट मानेर हलबाट निस्कन्थे । सिक्वेल बनाउने लोभमा अरु निर्देशकले झैं चाक्सले पनि गल्ती दोहो¥याएका छन् । चलचित्रमा पारिवारिक विछोड,गरिव हुनुको पिडा देखाउने कोसिस गरिएको छ । तर आँखामा आँखु छछल्किने संवाद र दृश्य छैनन् । त्यो पिडा देखेर मन भारी हुन्छ तर दर्शकको आँखामा आँशु आउदैन । १ घण्टा ५० मिनेटमा सिमित चलचित्रलाई लाहुरे जीवनको पिडा बोल्न थप समय खर्चन सक्ने अवसर थियो ।
ट्रेलर हेरेर चलचित्र हेर्न पुगेका दर्शकलाई भने दमदार चलचित्र नबनाइएको लाग्न सक्छ । गोर्खाली पल्टनको विरताको कथा सुनेका नेपालीहरुलाई विद्रोहीको शसक्त युद्धकलाले मन चसक्क हुन्छ ।
रेविका गुरुङ
चलचित्रमा अभिनेत्री रेविका गुरुङले ‘राम्रो’ अभिनय गरेकी छिन् । उनले ७५ बर्षअघिको नेपाली गाँउले जीवन उनले दुरुस्तै देखाउने अभिनयमार्फत कोसिस गरेकी छिन् । उनको गाँउले निर्दोष जीवनशैलीलाई जस्ताको त्यस्तै देखाउने प्रयास प्रसंशायोग्य छ । परिवारको सदस्य युद्धमा होमिदाको मनोदशा अभिनेत्रीको अनुहारमा प्रष्ट झल्काएकी छिन् । उनले परिवारप्रति पुरा गरेको जिम्मेवारी हेर्दा दर्शक भावविह्वल हुने अवस्था श्रृजना गरेकी छिन् ।
रितेस चाक्स
चलचित्रको केन्द्रमा रहेका अभिनेता रितेस चाक्स बिर्खबहादुरको भूमिकामा जमेका छन् । उनले युद्धकला र संर्घष हेर्नलायक छ ।
विजय लामा
नेपाल एअरलाइन्स उडाउने पाइलट समेत रहेका कलाकार विजय लामा चलचित्रका केही दृश्यमा छन् । छोटो भूमिकामा देखिएका उनी चलचित्रको सैनिक कमाउण्डरले चेन अफ कमाण्डमा राख्न खेल्नु पर्ने सशक्त भूमिका निभाएका छन् ।
कविता आले
कविता आलेले चलचित्रलाई युद्धमा होमिएको परिवारको पिडा र छट्पटी देखाउन राम्रो प्रयास गरेकी छिन् ।
अन्तमा, निर्देशकले चलचित्रको विषयबस्तु दमदार छनौट गरेका छन् । युद्धमा होमिएका र तालिमप्राप्त कलाकारहरुले लामो समयसम्म दुःख गरेर चलचित्र निर्माण गरिएको छ । यो चलचित्र निर्माण गर्न चाक्स योग्य निर्देशक हुन् भन्नेमा शंका छैन । तर चलचित्रको कथा र पटकथामा कमजोरी छ । चलचित्र सलल बगेको छैन । चलचित्रको मुटु कथा र पटककथा हो । चलचित्रले दर्शकलाई कौतुहल जगाएर बाधेर राख्नु चलाखी हो । मिठासपूर्ण प्रस्तुतीले चलचित्रलाई जीवन्त बनाउन सक्ने खुबी निर्देशकमा हुनु जरुरी छ ।
प्रतिक्रिया