१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भजन शिरोमणी भक्तराज आचार्यको शवयात्रा : मलामीले गाइरहे गीत



काठमाडौँ
१५ फागुन । सामान्यता मलामीले गीत गाँउदैनन् । तर सोमबार भजन शिरोमणी भक्तराज आचार्यको शवयात्रामा सहभागी मलामीले उनको कालजयी गीत गाँउदै शवयात्रामा सहभागी भए ।
सानो गौचरणस्थित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानबाट सुरु भएको शवयात्रामा क्रममा सहभागीहरुले ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरुको माया लागेर आउँछ’, ‘हरे राम हरे कृष्ण’ गाउदै शव यात्रा गरे ।
शव यात्रामा सहभागीहरुले हातमा भजन शिरोमणी आचार्यको तस्विर र अगरबत्ती बालेर सहभागी भएका थिए ।
सानो गौचरण ज्ञानेश्वर गौशाला हुँदै पशुपति प्रवेश गरेको शवयात्रामा गायक गायिका र कलाकारहरु सहभागी थिए । पशुपतिनाथ मन्दिर अगाडि आर्यघाटमा भने शजारौंको भीड अन्त्येष्टिमा सहभागी भएका थिए ।
गयक तथा संगीतकार आचार्यको पार्थिव शरीरमा उहाँका छोराहरू सत्यराज र स्वरूपराज आचार्यले दागबत्ती दिएका थिए ।
त्यसअघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको गायक आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै सङ्गीतकर्मीले उनकै गीत र भजनमार्फत बिदाइ गरेका थिए । सङ्गीतकार सङ्घ नेपालको आयोजनामा भएको श्रद्धाञ्जलि कार्यक्रममा गीतलाई उपस्थित सङ्गीतकर्मीसँगै स्वर्गीय आचार्यका दुवै छोराले पनि गाएको सुनिएको थियो ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरे । महामन्त्री थापाले गायक आचार्यको प्रस्थानसँगै साङ्गीतिक संसारमा एक युगको समापन भएको बताए ।


अर्का महामन्त्री शर्माले एउटा गायकले विगत ३० वर्षदेखि गीत गाउन नसक्नुको पीडा अन्यले महसुस गर्न नसक्ने बताए । “एउटा गायकको सपना अन्तिम साससम्म गाउँ भन्ने नै हुन्छ तर उहाँले सामना गर्नुपरेको परिस्थिति हामी सोच्न पनि सक्दैनौँ । उहाँको गीत हजार सपनाको माया लागेर आउँछमा ती सबै भाव भनिएकोजस्तो लाग्छ”, महामन्त्री शर्माले भने ।
सङ्गीतकार तथा गायक टीका भण्डारीले नेपाली गीतसङ्गीतमा अपुरणीय क्षति भएको बताए ।
सङ्गीतकार सङ्घ नेपालका अध्यक्ष चेतन सापकोटाले आफूलाई गीतसङ्गीतमा भविष्य देखाउने र काठमाडौँसम्म आउन प्रेरणा दिने आवाज गायक आचार्यको रहेको बताए ।
गायक हेमन्त शर्माले गायक आचार्यलाई युग गायकको रुपमा सम्झिए । सङ्गीतकार वसन्त सापकोटाले भक्तराजको अवसानबाट एउटा इतिहासको समापन भएको बताए । गायिका मिलन नेवाले उनको गीतले आफूलाई प्रेरणा प्राप्त भएको बताइन् ।
विसं १९९९ मा धनकुटाको कुरुलेतेनुपामा जन्मिएका आचार्यको नेपाली सुगम सङगीतमा महत्वपूर्ण योगदान छ । आचार्यले ‘मुटु जलिरहेछ।।।’, ‘जति चोट दिन्छौँ।।।’, ‘जहाँ छन् बुद्धका आँखा।।।’, ‘हजार सपनाहरूको।।।’, ‘माया मेरी साँझ बिहान।।।’, ‘हजार आँखा हेर्ने।।।’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिएका छन् ।
भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ३ : १४ बजे