ललितखबर
१ चैत्र । करिव २ हजार २ सयभन्दा अघि निर्माण गरिएको पाटनको गोल्डेन टेम्पल नामले परिचित हिरण्यवर्ण महाविहार, क्वाबहालको आयोजनामा बुधबारदेखि पाटनमा “यल इतिल्हन सम्यक महादान पर्व” सुरु भएको छ ।
‘दिपंकर पर्व’ का नामले समेत प्रख्यात यो पर्व विभिन्न विहारका दिपंकर बुद्ध, तारा, बौद्ध देवीदेवता, श्रामणेर, ब्रम्हचर्य भिक्षु, शाक्यभिक्षु तथा बज्राचार्य आदिलाई आमन्त्रण गरी सम्यक महादान पर्व आयोजना गर्ने गरिन्छ ।
वि.सं. १८६१ सम्म प्रत्येक बर्ष आयोजना भएको यो पर्व पाटनमा ७७३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
गतफागुन २४ गते लिङ्गो ठड्याएपछि बुधवार ललितपुरको मुख्य १८ विहारका साथै चापागाउँ, बुंगमति, किर्तिपुर, काठमाडौं, ललितपुर, भक्तपुरका बहाःबही (महाविहार) हरुबाट विशालकाय दिपंकर बुद्ध, आर्यतारा तथा अन्य सम्यक देवीदेवताहरुलाई पाटन दरवार क्षेत्रमा भेला गराइएको थियो । राति ७ बजे शुरु भएको यो भेला पश्चात राति ९ बजे विभिन्न सांस्कृतिक बाजागाजा र लावालस्करसहित ज्येष्ठवर्ण महाविहार तंगःबहाः गइ श्री वसुन्धरा देवीलाई जात्रा गरी सहभागी गराइएको थियो ।
बुधबार सम्पूर्ण दिपंकर बुद्ध तथा अन्य देवीदेवताहरु लस्करै मंगलबजारबाट नागबहाल पु¥याएको थियो ।
आज विहान ४ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धालु भक्तजनहरुलाई विराजमान दिपंकर बुद्ध तथा देवीदेवताहरुको पूजाआजा तथा दर्शन गराइने कार्यक्रम रहेको छ ।
आजै समय नागबहाल ढुंगेधारा परिसरमा विशालरुपमा धाःबाजा तथा बाँसुरी बाजा प्रदर्शन गरिनेछ । यस बर्ष यस पर्वका लागि अक्षयकोष स्थापना गर्ने ललितपुर महानगरपालिकालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।
प्रतिक्रिया