२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बोक्सीको घर’ : सशक्त अनि मौलिक नेपाली चलचित्र



ललितखबर
१५ वैशाख । चलचित्र भवनमा हरेक हप्ता भिन्न भिन्न चलचित्र प्रर्दशन हुन्छन् । ती चलचित्रको आफ्नै खाले दर्शक हुन्छन् । कुनै चलचित्र एकैदिन हलबाट उत्रन्छन् त कुनै लामो समय हलमा टिकिरहन्छन् ।
गतशुक्रबारबाट देशभरका चलचित्र भवनहरुमा एउटा फरक चलचित्र ‘बोक्सीको घर’ प्रर्दशन भइरहेको छ ।
रंगमञ्चमा नाटक मञ्चन गर्दै आएका डेव्यु निर्देशक सुलक्षण भारतीले निर्देशन गरेको चलचित्र ‘बोक्सीको घर’ एउटा मौलिक नेपाली चलचित्र हो ।
चलचित्रमा धमाकेदार आइटम नृत्य,हिरो र हिरोयनको रोमान्स, फाइट, हास्यकलाकारको हास्यरस केही छैन । चलचित्रमा नेपाली समाजमा लुकेर बसेको वालविवाह अनि बोक्सी प्रथालाई मलिन ढंगले केलाइएको छ । नेपाली स्वार्थी समाजले गर्ने तिकडमलाई सटिक ढंगले देखाइएको छ ।
चलचित्र हेर्दा दर्शकको शरिरमा ९ रेक्टरस्केलको भुकम्प जान्छ । बेला बेलामा आङ जिरिङ हुन्छ । डर,त्रास, रिस, आवेग अनि मन नै कटक्क हुने गरि चित्त दुख्ने मनग्गे दृश्य छन् । चलचित्र हेरिरहँदा आँखाबाट आँखु खस्छन् ।
निर्देशक सुलक्षणले चलचित्र निर्माणअघि नै नेपाली समाजले चासो राख्ने बोक्सीजस्तो संवेदनशील विषय छनौट गरेका छन् । जुन विषय सधै बौद्धिक समाजका लागि चासो र चिन्ताको विषय हो । उनले आधा आकाश ढाक्ने महिलाको समस्यालाई चलचित्रको पर्दामा उतारेका छन् । जुन महिलाहरुको अपार साथ र समर्थन पाउन सक्ने विषय हो ।
निर्देशक सुलक्षणले मौलिक कथाबस्तुलाई जनचेतना फैलाउने शैलीमा प्रस्तुत गरेका छन् । १ घण्टा ४९ मिनेट लामो चलचित्र सामाजिक कथा मन पराउने दर्शकले हेनै पर्ने चलचित्र हो ।
अभिनेत्री केकी अधिकारी बोक्सीको भेषमा चिच्याएको अभिनय डरलाग्दो छ ।
चलचित्र एउटा सामान्य गाउँबाट उठान गरिएको छ । गाँउले परिवेस भीरपाखाले ढाकिएको त्यो गाँउमा श्रृजनालय माध्यामिक विद्यालयमा जुनु नाम गरेकी अबोध पढ्छिन् । पढ्दा पढ्दै सानै उमेरमा एउक जुँगेमुठ्ठे युवकसँग विवाह हुन्छ । चलचित्रकी मुख्यपात्र सुपला र केकीले सशक्त ढंगलले अघि बढाएका छन् ।
वालिकाको विवाह पराईघर जाने क्रमका सम्बाद मन छुने किसिमका छन् । अबोध बालिका जुनुले अन्तर हृदयको बोली बोल्छे । जुन दृष्य र संवादहरू हृदयस्पर्शी छन् ।
चलचित्रमा अनेकौंको अनौठा अनि स्वभाविक दृश्य छन् । जुनुको भूमिकामा रहेकी वालकलाकार सुपलाले जेठो उमेरको जुगे श्रीमान्लाई जुँगे भनेको र विवाहपछि दाई भनेको संवाद परिवेसजन्य अनि स्वभाविक लाग्छ ।
चलचित्र जुनुको माईती गाँउको ज्यादा माया लाग्ने गरेको दृश्य स्वभाविक लाग्छ । चलचित्रमा जुनु पत्रकार बन्न चाहन्छे । धेरै पढ्न चाहन्छे । तर पढ्न पाउन्न । यस्ता दृश्यले दर्शकको मन कटक्क खान्छ चित्त दुख्छ ।
चलचित्र वाल मनोविशज्ञानले भरिपुर्ण छ । बोक्सीको कथालाई कलात्मक बनाउन निर्देशक सुलक्षणले कालो विरालो,सेतो कपडा र रातो कपडासँगै पिपलको बोटको कथा बुनेका छन् । जुन मौलिक र नेपाली समाजमा भन्दै आएको कथासँग जोडिएको छ ।
एउटै चलचित्रले बग्रल्ती सन्देस दिन सफल चलचित्र ‘बोक्सीको घर’मा वालविवाहले निम्त्याउने सामजिक समस्या देखाइएको छ । विधुवाको मनोदशा चलचित्रमा स्प्रष्ट बुझाउन चलचित्र सफल छ । बोक्सीको कुप्रथालाई स्वार्थी समाजले कसरी उपभोग गरिएको छ भन्ने देखाइएको छ । चलचित्रको कलेक्सन बलियो छ ।
च्लचित्रका लागि प्रयोग गरिएको गीत संगीतले चलचित्रको कथा भन्छन् । भाव बोल्छ ।
महिलाहरूको यौन भावनालाई सटिक ढंगले देखाईएको छ । नारीमाथि पुरूषोत्वको प्रभाव देखाउने समाजको चरित्र निर्देशक भारतीले उदाङ्गो बनाई दिएका छन् । चलचित्रको ट्रेलर र टिजर हेर्ने दर्शकले हरर चलचित्रको अनुमान गरे पनि यो हरर चलचित्र भने होइन ।
स्वार्थी र कुसंस्कारले जकडिएको समाजले अवला नारीमाथि गर्ने अत्याचारको कथा चलचित्र बोक्सीको घरले बोलेको छ । समाजमा रहेका कमजोर महिलामाथि हुने गरेको अत्याचारलाई चलचित्रले देखाउन सफल छ ।
चलचित्रमा ठाँउ ठाँउमा कलाको प्रयोग गरिएको छ । धेरै ठाँउमा सानी हुँदाकी जुनु र ठूली भइसकेकी जुनुलाई एकै ठाँउमा देखाइएको छ । जुनुले ढुंगामा सम्बन्ध,देउता,माया र पापी जस्ता शव्द लेखेको दृश्यले आममान्छेको हृदय हल्लाउछ । जहाँ चलचित्रमा सम्बन्धले मायाँ बढ्दै गएको अनि सम्बन्ध टुटेपछि देवताको नाममा पाप गरेको समाजको प्रबृतिलाई उजागर गरेको छ ।
चलचित्रको सिनेमेट्रोग्राफी उच्च कोटीको छ । पार्शसंगीतको प्रयोग ठिकै छ । चलचित्रको संवाद शसक्त छ । मौलिक ध्वनीले चलचित्रलाई जीवन्त बनाउन सघाएको छ ।
कमजोरी
चलचित्रको कमजोरी खुट्याउन दर्शक र समिक्षकलाई कठीन छ । यद्यपी चलचित्रको कमी र कमजोरी हुँदै नभएको भने होइन । चलचित्रको अन्त्य दर्शकलाई न्यायोचित ढंगले भएन भन्ने दर्शकलाई हलबाट निस्कदै गर्दा लागिरहन्छ । चलचित्रमा सुखद अन्त्य खोज्ने दर्शकलाई सिक्वेलको लोभमा निर्देशकले चलचित्रको अलपत्र अन्त्य गरे कि भन्ने आशंका गर्ने ठाँउ छ ।
चलचित्रमा गीत संगीतको प्रयोग छैन । निर्देशक सुलक्षणले सुमधुर गीत संगीतमार्फत कलात्मक कथा पस्कने शैली पछ्याएका छैनन् । सामाजिक कथामा विकृत समाजको, दुःख र दर्द ज्यादा छ । कतिपय ठाँउमा दिक्दारी लाग्छ । चलचित्रको आफै निमात्री भएर हुनसक्छ अभिनेत्री केकीको चरित्र हावी छ । यद्यपी वालकलाकार सुपलाले अव्वल कला प्रस्तुत गरेर त्यो छोपिएको छ ।
चलचित्रको पात्रबारे कलाकार निर्देशक तथा कथाकार सुलक्षणले पृष्ठभूमि भन्न चाहेका छैनन् यसले चलचित्र के नमिलेको के भन्ने भान दर्शकमा पर्छ । चलचित्रमा ‘बुझिन मैल’े बोलको गीत चलचित्रमा प्रयोग गरिएको छैन । प्रमोसनका लागि मात्रै बनाइएको गीत चलचित्रमा नदेख्दा दर्शकले ‘खै त गीत’ भन्दै प्रश्न पर्छन् । कतिपय दर्शकलाई चलचित्र बोक्सीको घर मन नपर्न पनि सक्छ ।


केकी अधिकारी

अभिनेत्री अधिकारीले आफूलाई राम्रो कलाकारको रुपमा आफूलाई चलचित्रमा प्रमाणित गरेकी छिन् । घरकी सोझी बुहारीको निर्दोष हाउभाउ हेर्दा ठ्याक्कै सुदुर पश्चिमतिरकी आइमाईको झल्को दिएकी छिन् । उनले लगाउने बुलाकी अनि फरिया व्याउजले चलचित्रको चरित्रलाई न्याय गरेको छ ।
पागल आइमाईको रुपमा उनको हर्कत,परपुरुषसँगको सहवासको दृश्य र असल श्रीमतीको भूमिका अभिनेत्री केकीले अर्थपूर्ण ढंगले निभाउकी छिन् ।
अभिनेत्री केकीले नेपाली अभिनेत्रीहरुले विरलै गर्ने फरक भूमिकामा अभिनय गर्ने आँट गरेकी छिन् । केकीले नेपाली समाजको काल्पनिक बोक्सी रहस्यमयी हाउभाउ र डरलाग्दा हर्कत सहज ढंगले देखारेकी छिन् । उनको अभिनय हेर्दा डर त्रास र आक्रोस एकैपल्ट उम्लेर आउँछ ।
सुपला सापकोटा
वालकलाकार सुपला सापकोटा ‘जुनु अधिकारी’को मौलिक अभिनय हरेक दर्शकको मन छुने किसिमको छ । उनको संवादशैली गज्जवको छ । उनले बोल्ने निर्दोष अनि संवेदनशील संवादले दर्शकको आँखा रसाउछन् ।
सुपलाले विद्यार्थी जीवनको वाल मनोदशालाई ठ्याक्कै पर्दामा उतारिदिएकी छिन् । चलचित्र हेर्ने दर्शकले पहिलोपल्ट अव्वल वालकलाकारको अभिनयकला हेरिरहेको अनुभव हुन्छ । चलचित्रभर सुपला चरित्र र अभिनयकलाको कारण हाबी छिन् । , सुपलाको अगाडि अरु कलाकार चलचित्रमा फिक्का लाग्छन्।

स्वच्छा राउत
पत्रकारको भूमिकामा रहेकी स्वच्छा राउतको अभिनय मौलिक लाग्छ । उनले चलचित्रमा एउटा असल पत्रकारले खेल्ने भूमिकालाई अर्थपूर्ण र स्वभाविक अभिनय पस्केकी छिन् । दर्शकले स्वच्छाको अभिनयभन्दा पनि भूमिकालाई मन पाउछन ।् किन की चलचित्रको हिरो पात्र उनै स्वइच्छा हुन् ।

रमा थपेलिया
सधै उस्ता लाग्ने कलाकार रमा थपेलियाको अभिनय चलचित्रमा परम्परागत र रैथाने ‘आईमाई’को भूमिका छ । उनले गर्ने परिस्थितीजन्य अभिनयलाई राम्रै छ ।

सुलक्षण भारती
चलचित्रमा छोटो अनि महत्वपूर्ण भूमिकामा निर्देशक सुलक्षण भारती पनि पर्दामा देखिन्छन् । पुरातन गाँउले परिवेसलाई सुलक्षणले कलात्मक ढंगले पस्केका छन् ।
अन्तमा, हामीले परम्परागतशैली र हिरो हिरोयनको रोमान्सले भरिएका धेरै चलचित्र हेरिसकेका छौं ।नेपाली दर्शकका लागि नेपालीपन अनि नेपालीशैलीसँगै नेपालीहरुको सामाजिक समस्यालाई कलात्मक शैलीमा बनाइएको एउटा चलचित्रको खाचो थियो । जुन निर्देशक सुलक्षण भारतीले यतार्थमा आधारित कथामा चलचित्र बनाएका छन् ।
गाउले जीवनशैली रहनसहन भोगेका तर त्यो जीवनबाट आजकल टाढा बसेका नेपालीहरुले हेर्नैपर्ने चलचित्र बोक्सीको घर हो । चलचित्र हेर्दा हलमा तिरेको पुरै पैसा असुल हुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ७ : ३६ बजे