ललितखबर
११ जेठ । ठूलै हल्लाखल्लाका साथ विहीबारदेखि नेपाली रजतपटमा नयाँ चलचित्र ‘फर्की फर्की’ प्रर्दशन सुरु भएको छ ।
नेपाली युवाहरुले मन पराएका अभिनेता अनमोल केसी (माधवसिह बस्नेत ‘म्याडी’) र सुन्दरी अभिनेत्री जसिता गुरुङ(‘सायरा’)ले अभिनय गरेको छन् । यस चलचित्रमा नवअभिनेता रवि काफ्ले(सुवास) र समृद्धि अर्चाल(सुजि) अभिनेत्रीले डेव्यु गरेका छन् ।
चलचित्र हेर्दैै जाँदा निर्देशकले दर्शकलाई रुचि जगाउन सक्नुपर्छ । दर्शकलाई बाँधेर राख्ने अर्को चीज रहस्य हो । निर्देशक सुयोग गुरुङले न त चलचित्रमा रहस्य श्रृजना गरेका छन् न बाँधेर राख्न रुचिकर प्रस्तुती नै दिन सकेका छन् । चलचित्र हेर्दा दर्शक यो के आयो फेरि ? भन्दै बोर मान्ने अवस्था छन् । निर्देशक गुरुङले चलचित्रको बीच बिचमा लाइम ट्राभल राखेर थुप्रै कुरामा रहस्य घुसाउन सक्थे । चलचित्रको कथामा रहस्य नै रहस्यको गुमराहमा राखेर टुंगाउन सक्ने सुविधा प्रयोग गरिएको छैन ।
चलचित्रमा अभिनेत्री पात्र ‘सायरा’ले पटक पटक चाउचाउ खान्छिन्, हो त्यस्तै चाउचाउजस्तै घुमेको छ यसको कथा ।
चलचित्रको मध्यान्तरपछि नयाँ नयाँ कथाको रहस्य खुल्दै जान्छन् । जुन दर्शकलाई मतलव नै हुँदैन । ती रहस्यले कुनै कौतुहता नै श्रृजना गर्दैन ।
चलचित्र सुन्दर पर्यटकीय राजधानी पोखरा र मुस्ताङ वरिपरि छायाँकन गरिएको छ । तर चलचित्रका पात्र अत्याधुनिक शहरका बासिन्दाजस्तो व्यर्होरा देखाउछन् । उनीहरुले बोल्ने संवाद लण्डन,वासिन्टनडिसी वा अष्ट्रेलियाको मेलवर्नतिर बस्ने अंग्रेजी संस्कृती अंगालेका युवा युवतीकोजस्तै छ । जुन चलचित्रको परिभेषसँग पटक्कै मेल खाँदैन ।
चलचित्रका पात्रहरुले गरेको अभिनयलाई साखै खोट लगाइहाल्नु पर्ने ठाँउ छैन । चलचित्रको समस्या कथा(स्क्रिप्ट)मा देखिन्छ । चलचित्रका निर्देशक गुरुङले चलचित्र फर्की फर्कीमार्फत के देखाउन खोजेका हुन् भन्ने प्रष्ट छैन ।
नेपाली पात्रो कार्तिक पूर्णिमाको दिन रोजेको खोजेको सबै पुरा हुने भविश्यवार्णीसँगै सुरु हुने चलचित्र ‘फर्की फर्की’ टाइम ट्राभल सिनेमा शात्रीय शक्तिको कारण माधवसिह बस्नेत ‘म्याडी’ त्यो संसारमा प्रवेश गरेको कुनै पुष्टि गरिएको छैन । चलचित्रमा माधवसिंह बस्नेत कुनै भगवान नै बनेर आफूले गरेको गल्ती सुधारेको सन्देस चलचित्रले दिन्छ । तर माधवसिंह बस्नेत मान्छे हो कि भगवान केही पुष्टि गरिएको छैन । यो कसरी टाइम ट्राभलमा जान सम्भव भयो चलचित्रले केही भन्दैन ।
चलचित्रमा माधवसिह बस्नेत ‘म्याडी’पात्र किन टाइम ट्राभलमा फसेको छ भन्ने कारण चलचित्रमा देखाइएकै छैन । त्यो ‘म्याडी’को कुनै गम्भिर रोग हो ? वा ‘‘म्याडी’ चलचित्रमा भनिएकोजस्तै भगवान हो’ निर्देशक गुरुङले पुष्टि गरेका छैनन् । ‘म्याडी’को जादुमय शक्तिको श्रोत एक पागल पात्र देखाइए पनि त्यो कसरी सम्भव भयो चलचित्रले बोल्दैन । चलचित्र हेरेपछि प्रभाव छोड्न सफल ‘म्याडी’बारे दर्शक रनभुल्ल पर्छन् ।
चलचित्रमा वावुलाई के भो चलचित्र ले केही भन्दैन । समृद्धि र सायरा घनिष्ट मित्र हुन् तर उनीहरुबारे केही खुलाइएको छैन ।
चलचित्रको पात्रको चरित्र चित्रणमा पनि समस्या छ । जन्मदिनमा कार उपहार नपाउदा घर छोड्ने ‘म्याडी’ आलिसान बंगलामा कसरी बसेको छ ? उसको जीवनशैली अमेरिकन युरोपियन युवाको जस्तो छ । जवकी एउटा प्राइभेट इन्सुरेन्स कम्पनीमा जागिरे छ । चलचित्रमा माधवसिंह बस्नेतको आचरण इन्सुरेन्स कम्पनीको प्रबन्धक हुन लायक छैन । उसले हाकिमको निधारमा स्ट्याम्प हालेको देखाइएको छ । जुन सुवाउदो लाग्दैन । अभद्र र सन्की पात्र कसरी इन्सुरेन्स कम्पनीको प्रबन्धकजस्तो गम्भिर प्रकृतीको ठाँउमा हुन्छ ? प्रश्न गर्ने ठाँउ राखिएको छ ।
चलचित्रमा रहेको कथाको अर्को समस्या चरित्र निर्माण पनि हो । इन्सुरेन्स कम्पनीजस्तो गम्भिर प्रकृतीको प्रबन्धमा जागिरे ‘म्याडी’को आभारा चरित्र कहिंकतै सुवाउदैन ।
टाइम लुपलाई चलचित्रको सुरुमै निरन्तर प्रयोग गरिएको छ । चलचित्रको कथा उठान गर्ने क्रममा निरन्तरका टाइम लुप दर्शकलाई बुझ्न कठीन छ । मध्यान्धरपछि टाइम ट्राभलमा ‘म्याडी’ किन जाँदैन दर्शकलाई निरन्तर लागिरहन्छ ।
टाइम ट्राभललाई नयाँ रुपमा प्रयोग गर्न खोजिएको छ तर अचम्मलाग्दो छैन । ज्यादा श्रृजनात्मक छैन । त्यसैले टाईक लुप नाटकीय लाग्छ । निर्देशकले कथा भन्ने शैली राम्रोसँग अघि नबढाउदा टाइम ट्राभलको दृश्यसँगै थुप्रै अन्यौल उत्पन्न हुन्छ ।
चलचित्र हेरेपछि फर्की फर्की नामको औचित्य पुष्टि गरेको अनुभव हुँदैन । गीतमा फर्की फर्की शव्दको प्रयोग छ ।
अनमोल केसी( माधवसिह बस्नेत ‘म्याडी’)
अनमोलको अभिनयमा खासै नयाँपन छैन यद्यपि सुधारोन्मुख छ । कतिपय ठाँउमा अभिनय गरेको भन्दा पनि संवाद बोलिदिएको अनुभव हुन्छ । संवादमा नेपालीपन छैन । अंग्रेजी लवज मिसिएको छ ।
जसिता गुरुङ(‘सायरा’)
चलचित्रमा अभिनेत्री जसिताको अभिनय प्रशंसा योग्य छ । आधुनिक युवतीको भूमिकामा उनी जमेकी छिन् । उनको अंग्रेजी उच्चारण राम्रो छ । अनि नेपाली पनि । संवादशैलीसँगै अभिनय मौलिक छ । रोमान्सका दृश्यमा जमेकी छिन् ।
रवि काफ्ले(सुवास)
चलचित्रमा खासै चर्चा नभएका कलाकार रवि काफ्लेले राम्रो अभिनय गरेका छन् । उनको चलचित्रमा प्रभावशाली भूमिका सशक्त रुपमा निभाएका छन् । उनको अभिनय चर्चित अभिनेताको भन्दा कम छैन ।
समृद्धि अर्याल(सुजि)
डेव्यु अभिनेत्री समृद्धिको अभिनय हेर्दा उनी बर्षैदेखि अभ्यस्त कलाकार झैं लाग्छ । उनले अभिनेत्री जसिताकै हाराहारीमा आफ्नो कौशल पस्केकी छिन् । संवादशैली हाउभाउ मौलिक लाग्छन् ।
सकारात्मक पक्ष
चलचित्रले म्याडी र सुवास अनि सायरा र सुजिबीचको प्रगाढ मित्रतालाई सुन्दर ढंगले देखाइएको छ । जुन प्रेरणादायी छ । चलचित्रमा मुस्ताङ अनि पोखरा वरपरका सुन्दर दृश्य सिनेमेट्रोग्राफर नरेन्द्र मैनालीले कैद गरेका छन् ।
चलचित्रमा फरक दृश्यभाषाको प्रयोग छ । कलाकारले बोल्ने संवादमा नयाँपनसँगै मिठास भेटिन्छ । उज्यालो रंग सुकिलो मुकिलो पोशाक र सुन्दर मेकअपले चलचित्रको शोभा बढाएको छ ।
अनमोल,रवि जसिता र समृद्धिलाई ड्रेस डिजाइनरले सुन्दर बनाएका छन् । मेकअपमार्फत श्वेता खवाञ्जुले कलाकारलाई झन् राम्रो देखाएकी छिन् । चलचित्रको रंग संयोजन राजेन्द्र मोक्तानले सुन्दर ढंगबाट गरेका छन् । चलचित्रमा अनमोल जसिता र रवि समृद्धिको रोमान्स र केमेन्ट्री ज्यादा मिलेको छ ।
चलचित्र निर्माणको अर्कोे सकारात्मक पक्ष चलचित्र निर्माण गर्दा कुनै सम्झौता गरिएको छैन । हटबेलुनबाट हामफलेको दृश्य होस वा मुस्ताङको डाँडा पाखासम्म पुगेर छायाँकन गरिएको दृश्य हेर्दा लाग्छ चलचित्र निर्माणमा निर्माताले मनग्गे लगानी गरेका छन् । यो स्तरको लगानी गर्न निर्माता हौसिनु नेपाली चलचित्रको सकारात्मक पक्ष हो ।
चलचित्रको अर्को राम्रो पक्ष अनमोल केसीको चलचित्रमा पनि मनग्गे कमेडीका दृश्य समेटिएका छन् । चलचित्र हलमा दर्शकहरु धेरै पटक ठूलो आवाज निकालेर हाँसेको सुन्न सकिन्छ ।
चलचित्रमा बेलुन उडाएको दृश्यलगायतको दृश्य खिच्न सिनेमेट्रोग्राफरले मेहनत गरेको देखिन्छ ।
अन्तमा, चलचित्र नयाँ विधा(जनरा)मा निर्माण गरिएको छ । नयाँ नयाँ विधामा चलचित्र बन्नु एकदमै सकारात्मक कुरा हो । यस्ता नयाँ खाले चलचित्रले दर्शकको दायरा मात्रै बढाउदैन, नेपाली चलचित्रको क्षितिज झन् फराकिलो बन्छ । संसारभर छरिएर हरेका ९ करोड दर्शकमाझ नेपाली चलचित्रले लोकप्रिय बनाउन मद्दत पुग्छ ।
हास्य,प्रेम,सामाजिक,युद्धजस्ता विधामा बनेका चलचित्रका फरक फरक दर्शक समूह हुन्छन् । दर्शक समूहको मनोभाव बुझेर चलचित्र बनाउन सक्ने चलाख निर्देशकहरु बक्स अफिसमा सफल हुन्छन् ।
युवाहरुको बाहुल्य रहेको हाम्रो समाजमा युवाको कथा अघि सारेर निर्देशकले दर्शक समूहको मन जित्न खोजेका छन् । बक्स अफिसमा चलचित्र सफल होला अथवा नहोला । चलचित्रभित्रका थुप्रै समस्यालाई नकार्न सकिन्न । समस्यालाई समस्याकै रुपमा बुझेर आगामी चलचित्रमा सुधार हुने अपेक्षा गर्न सकिन्छ । नेपाली निर्देशकहरुले राम्रा कलाकार पाएका छन् तर निर्देशकहरुले उनीहरुको क्षमताको उचित फाइदा उठाउन सकेका छैनन् । चलचित्र फ्लोरमा जानुअघिका थुप्रै तयारी र मेहनत जरुरी छ । कथा(स्क्रिप्ट) चरित्र निमार्ण र प्रस्तुतीमा धेरै मेहनत गर्ने हो भने चलचित्र राम्रो बन्छ । चलचित्रलाई लम्मेतान होइन छोटो र मिठो बनाउने हो भने निर्माताको खर्च जोगिन्छ । पैसा कमाइन्छ ।
इमानदार भएर लेख्ने हो भने केही नयाँ छ तर चलचित्र हल्ला गरेजस्तो राम्रो चाही छैन ।
१२ जेष्ठ २०८१, शनिबार
226
Shares
प्रतिक्रिया