१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपत्यकामा मेलाम्ची खानेपानी बन्द, धाप ड्यामको पानी वितरण



काठमाडौँ
११ असार । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजबाट बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको छ । मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन हिजोबाट आयोजना बन्द गरिएको हो ।

बागमती सभ्यता–एकीकृत विकास समितिसँग धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने सहमति भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिएका छन् । उनले हिजोबाट मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजदेखि धाप ड्यामको पानी वितरण सुरु भएको बताएका छन् ।

राईका अनुसार उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानी अभाव बढ्ने भएकाले आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक तीनदेखि चार करोड लिटर पानी ल्याउने सहमति भएको हो ।

“मेलम्ची खानेपानीबाहेक विभिन्न स्थानबाट यो सुख्खा मौसममा नौ करोड लिटर दैनिक उपभोक्तालाई खानेपानी वितरण हुन्छ, त्यसमध्ये ४० प्रतिशत भूमिगत पानीले कभर गर्छ”, राइले भनेका छन्, “अब मेलम्चीको पानी बन्द भएपछि उपत्यकामा पानीको अभाव हुने भएकाले धाप ड्यामबाट पानी वितरण सुरु गरेका छौँ ।”

प्रवक्ता राईका अनुसार काठमाडौँमा दैनिक ४३ करोड खानेपानी माग छ । आवश्यकताअनुसार पानी आपूर्ति गर्न सकिएको छैन । बढ्दो जनसङ्ख्यासँगै भूमिगत पानी, पोखरी, ढुङ्गेधारा सुक्दै जाँदा उपत्यकामा खानेपानीको अभाव बढिरहेको छ ।

माथिल्लो तटिय क्षेत्रमा पानी परिरहेको र अघिल्ला वर्षमा मेलम्ची नदीमा आएको बाढीले आयोजनाको ड्याममा क्षति पर्नुका साथै आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न हिजोदेखि आयोजना बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०८१, मंगलबार  २ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।