धरान (सुनसरी)
२३ असार । नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन् ।
गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा विनयी त्रिवेणी–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ हरिजनले जानकारी दिएका छन् । गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका सबै ढोका खोलिएको उनले बताए । आज बिहान ७ः०० बजे गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ४० हजार सात सय ५० क्युसेक मापन गरिएको अधिकृत हरिजनले बताए ।
नदीमा शनिबार दिउँसोदेखि पानीको बहाव निरन्तर बढिरहेको छ । अधिकृत हरिजनका अनुसार शनिबार दिउँसो १२ बजे नदीमा पानीको बहाव एक लाख ६१ हजार क्युसेक थियो । त्यसपछि निरन्तर पानीको बहाब बढ्दो क्रममा छ । गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि सिँचाइका लागि लगिएको नहरको ढोका बन्द गरिएको अधिकृत हरिजनले जानकारी दिए । गण्डक ब्यारेज निर्माण गर्ने बेलामा ब्यारेजको क्षमता नौ लाख क्युसेक भए पनि अहिले ब्यारेज पुरानो भएको कारण पानीको बहाव ६ लाख क्युसेकसम्म धान्न सक्ने बताइएको छ । ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दो क्रममा छ ।
सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।
सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।
पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने खण्डमा रुख ढलेर सडक अवरुद्ध भएको छ । दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिक माथिबाट रुख ढलेर सडक अवरुद्ध भएको जल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । अवरुद्ध सडक खुल्न समय लाग्ने उहाँले बताए ।








प्रतिक्रिया