२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आठबीसकोटमा बाढीले बगाएका तीन बालिकाको शव पुरिएको अवस्थामा फेला, एक बेपत्ता



त्रिवेणी (रुकुमपश्चिम)
१ साउन । रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए ।
बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको  आठबीसकोट नगरपालिकाका मेयर रवि केसीले जानकारी दिएका छन् ।
उनका अनुसार बाढीले घर बगाउँदा बेपत्ता भएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी भइरहेको छ । उनी बसेको घरमै पुरिएको हुनसक्ने आशङ्का गरिएको छ । लेदोसहितको बाढीले घर पुरिएपछि  डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको मेयर केसीले जानकारी दिएका छन् ।
बाढीमा परेर घाइते भएका सात जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, छ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया  धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते भएका छन् । घटनाको पूर्ण विवरण सङ्कलन जारी रहेको  र  घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले बेपत्ताको खोजी गरिरहेको मेयर केसीले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ४ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।