काठमाडौं
२ साउन । नेपाली चलचित्र क्षेत्रका भर्सटायल अभिनेताका रुपमा परिचित प्रदिप खड्का तथा नव अभिनेत्री दिव्या रायमाझी जोडी रहेको चलचित्र ‘एक्टर’को छायांकन सम्पन्न भएको छ ।
गत बैशाख ललितपुरको बुङमतीस्थित एक मन्दिरमा पुजा गर्दै शुभमुर्हुत गरिएको चलचित्रको दुई चरण गरी ४५ दिनमा छायांनक पुरा गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
पोखरामा १० दिन छायांकन पछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै चलचित्रको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमनकुमार भण्डारीले जानकारी दिए । ’समय लगाएरै फिल्मको छायांकन सकिएको छ, सुटिङ अवधिभर कलाकार र प्राविधिकहरुको साथ मिल्नाले सोचे अनुरुप नै काम सक्काइयो, अब बाँकी गीतको छायांकन युरोपमा गर्ने सोचमा छौं । फिल्म कस्तो बन्यो भन्ने आम दर्शकलाई लाग्न सक्छ, जो होस् अब आउने तीन महिनाको अवधिमा हाम्रा टिजर, ट्रेलर र फस्टलुकबाट थाहा पाइनै हाल्नु हुने छ, यति हो प्रदीप खड्कालाई हेर्दै आएको भन्दा फरक देख्न सक्नुहुनेछ,’ निर्माता भण्डारीले भने ।
राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको चलचित्रमा प्रदीप र दिव्यासहित राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ’पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको अभिनय रहेको छ ।
दिव्याको भने यो पहिलो चलचित्र हो । राजबल्लभले यही चलचित्रबाट करिब दश वर्षपछि कमब्याक गरेका छन् । नायक खड्काले पहिलो पटक फिल्मी पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन् ।
अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मस्को निर्माण रहेको यो चलचित्रमा थमन कुमार भण्डारीको लगानी छ । एनिस भुसाल सह–निर्माता रहेको यो चलचित्रको क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् । चलचित्रका छायाँकार नरेन्द्र मैनाली हुन् ।
यो चलचित्र यस वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा प्रर्दशन हुने छ । चलचित्रको जापान प्रदर्शन अधिकार समेत बिक्री भएको छ। ‘एक्टर’को जापान राइट्स खेम राज शाहको म्याक्स इटरटेन्टमेन्टले खरिद गरिसकेको छ ।
प्रतिक्रिया