८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोकर्णेश्वर मन्दिर परिसरमा फोहरै फोहोर



काठमाडौँ
१८ भदौ । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा हिजो लागेको मेलाका फोहर भएको छ ।
सोमबार पनि नेपाल र भारतका विभिन्न स्थानबाट आएका भक्तजनको गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भीड लागेको थियो ।
उक्त भीडसँगै थुप्रिएको फोहर व्यवस्थापन हुन नसक्दा आज मन्दिर क्षेत्र प्रवेश गर्नै नसकिने अवस्था भएको भक्तजनको गुनासो छ ।

आज सूर्योदयकालमा औँसी तिथि रहेकाले केही भक्तजन श्राद्ध गर्न जम्मा भएका थिए । पितृप्रति श्रद्धाभाव प्रकट गर्न भोजपुरबाट आएका चन्द्रबहादुर अधिकारीले पितृतीर्थ धामका रुपमा परिचित गोकर्णेश्वर मन्दिर क्षेत्रमा थुप्रिएको फोहरले दर्शन गर्नै कठिन भएको गुनासो गरे ।

मन्दिर क्षेत्र व्यवस्थापन समितिले फोहर गर्नेलाई सफाइमा जिम्मेवार बनाउने गरी काम गर्नुपर्नेमा उनले जोड दिएका छन् । वाग्मती नदीको किनारमा अवस्थित गोकर्णेश्वर मन्दिर वरपर भएको फोहर व्यवस्थापन नगरिँदा नदी थप प्रदूषित भएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानले सोमबार दिउँसो ४ बजेपछि त्यस क्षेत्रमा सफाइ गरेपनि पूरै फोहर भने उठाएन । अभियानले आज बिहान पनि ७ बजेदेखि सफाइ गरेको अभियानकर्मी भगवान् पुडासैनीले जानकारी दिए ।

गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले सफाइमा समय लागेको स्वीकार गर्दै भोलिसम्ममा गोकर्णेश्वर क्षेत्रको सफाइ गरिने आश्वासन दिए । वाग्मती सफाइ अभियान, लायन्स र लियो क्लबको सक्रियतामा हिजोदेखि सफाइ भइरहेको जानकारी उनले बताए ।

लाखौँ भक्तजनका कारण थुप्रिएको मेलाको फोहर व्यवस्थापनमा समय लागेको समितिले जनाएको छ । आगामी वर्षदेखि भक्तजनले आफूले गरेको फोहर आफैँले व्यवस्थापन गर्ने तयारी गरेका समितिले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ७ : २२ बजे