९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


आज इन्द्रजात्रा उपत्यकाभर भव्यताका साथ मनाइदै



काठमाडौँ
१ असोज । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिनदेखि सुरु हुने इन्द्रजात्रामा ठड्यइने यःसिं अर्थात् इन्द्रध्वज लिङ्गो मङ्गलबार हनुमाढोका दरबार परिसरमा ठड्याउँदै । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुरुप केन्द्रीय मानन्धर सङ्घको टोली भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जङ्गलबाट लिङ्गो काटेर ल्याउने प्रचलन छ । 

 

 

 

 

 

यसअघि तान्त्रिक विधिद्वारा पूजागरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एकरात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।
आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । “भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताएका छन् ।
यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन बुधबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।
अनन्त चतुर्दशी
भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रणगरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ ।
श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणबस जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । अनन्त चतुर्दशीको व्रत पनि आज गर्नुपर्ने समितिले जनाएको छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमाका दिन इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ७ : २१ बजे