१३ आश्विन २०८१, आइतबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


झ्याप्लेखोला पहिरोमा ३५ शव निकालियो



१३ असोज । धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा हालसम्म ३५ शव फेला परेका छन् । शनिबार रातिसम्म १४ शव निकालेको उद्धार टोलीले आज थप २१ शव निकालेको हो ।

शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि उत्खनन् शुरु भएको थियो । सो क्रममा शनिबार राति १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए । जसमध्ये ८ पुरुष र ६ महिला थिए । त्यसैगरी आइतबार थप दुई वटा गाडीबाट २१ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए ।

पुरिएका सवारीसाधन धुजाधुजा अवस्थामा रहेको र शव पनि छुट्टाछट्टै भेटिएकाले कुन सवारीसाधनको शव कुन हो भन्ने यकीन गर्न कठिन छ । पुरिएको अवस्थामा फेला परेका सवारीसाधन टुक्राटुक्रा बनेकाले नम्बर पहिचान गर्न कठिन भएको सूचना अधिकारी सिलवालले जानकारी दिए ।

गोरखाबाट काठमाडौं आउँदै गरेको ना४ख २२७० नम्बरको बसको भने एकिन भएको छ । एस्काभेटरले पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा चालक मदन परियारको शव देखिएपछि बसको एकिन भएको यातायात व्यवसायी अर्जुन भट्टले जानकारी दिनुभयो । पहिरोले पुरिएको अवस्थामा फेला परेको सो बसमा मुग्लिनसम्म चालक दलका तीन र एक यात्रु रहेको भनिएपछि बीच बाटोबाट यात्रु चढाएको हुनसक्ने अनुमान छ ।

त्यस्तै चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौंका लागि छुटेको माइक्रोबस (जम्बो हाइस)पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको र त्यसमा कति यात्रु थिए भन्ने एकिन नभएकाले पहिरोमा अझ थुप्रै शव भेटिनसक्ने आशंका गरेर उद्धार टोलीले खोजीकार्य तीव्र पारेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : २९ बजे