७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चाडपर्वका कारण रक्तदान नहुँदा रगत अभाव



कास्की
६ कात्तिक । चाडपर्वले रक्तदान र सङ्कलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको छ ।
नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको तथा डेङ्गुका बिरामी बढेसँगै रगतको माग वृद्धि हुँदा अभाव भएको जनाएको छ । केन्द्रले सबैलाई रक्तदान गर्नसमेत आह्वान गरेको छ ।
रक्त सञ्चार केन्द्रमा रगत अभाव भएर अस्पतालमा उपचाररत बिरामी प्रभावित हुने अवस्था आएपछि सोमबार पोखराको महेन्द्रपुलमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सर्वसाधारण र बटुवाहरुलाई रगत दिन आग्रह गरिएको थियो ।
केन्द्रको आह्वानपछि लायन्स क्लब अफ आदर्श चौतारीको अग्रसरतामा भएको सो कार्यक्रममा एक सय ३१ युनिट रगत सङ्कलन भएको केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिएका छन् ।
“दसैँका समयमा विभिन्न सङ्घसंस्थाले गर्ने रक्तदानका कार्यक्रम हुन सकेनन् । अहिले डेङ्गुको सङ्क्रमण बढेकाले अस्पतालमा रगतको माग बढी छ । आपूर्ति कम र माग बढी हुँदा अभाव देखिएपछि सबैलाई रक्तदान गर्न आह्वान गरेका छौँ”, ज्ञवालीले भनेका छन् ।
आकस्मिक कार्यक्रम गर्न गरिएको आह्वानपछि विभिन्न सङ्घसंस्थाले कार्यक्रम राखेका उनले जानकारी दिए । “हामीले अभाव महसुुस गरेपछि आह्वान गर्छौं र आपूर्तिको व्यवस्थापनका लागि पहल गर्दै आएको छौँ”, ज्ञवालीले भने । डेङ्गु सङ्क्रमण  बढेकाले ‘प्लेटलेट रिच प्लाज्मा’को माग बढिरहेकाले ‘फ्रेस रगत’का लागि दैनिक रगत सङ्कलन गर्नुपर्ने अवस्था आएको उहाँले बताए ।
लायन्स क्लब अफ आदर्श चौतारीका अध्यक्ष सूर्य पोखरेलले रक्तसञ्चारको आह्वानपछि रक्तदान कार्यक्रम गरिएको बताए । प्रदेशको राजधानी रहेकाले पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ । प्रदेशका अन्य अस्पतालहरुबाट पनि यहाँका अस्पतालमा बिरामी उपचारका लागि सिफारिस भएर आउने गरेकाले माग रगतको बढी हुने गर्दछ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ८ : ४८ बजे