२९ कार्तिक २०८१, बिहिबार | Thu Nov 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


फुटबल खेलाडी अञ्जिलाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ वर्ल्ड प्रिमियर हुँदै



चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा देखिनेछिन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन्

काठमाडौं
२४ कार्तिक । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को आधिकारिक पोस्टर सार्वजनिक गर्दै यसको वर्ल्ड प्रिमियरको जानकारी गराइएको छ ।
चलचित्रको वर्ल्ड प्रिमियर मङ्सिर २३, २०८१ (डिसेम्बर ८) मा हङकङमा हुने तय गरिएको छ । सो प्रिमियरमा एञ्जिला तुम्बापो सुब्बा र निर्देशक मिलन चाम्स सहभागी हुनेछन् ।
हङकङ प्रिमियरपछि नेपाल प्रर्दशन अगावै यो चलचित्रको प्रदर्शनी युके, अमेरिका, अस्ट्रेलिया, र जापानमा हुने निर्माता प्रेम कुमार श्रेष्ठले बताए । नेपालमा भने यो चलचित्रको रिलिज मिति फागुन २९ गते तोकिएको छ ।
चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा देखिनेछिन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् ।
चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । निर्देशक मिलन चाम्सले यो चलचित्रले फरक प्रकारको प्रभाव छोड्ने दाबी गरे । उनका अनुसार चलचित्रले एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथालाई चित्रण गर्दै इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको छ ।
चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ५ : २८ बजे