१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुने छैनः प्रधानमन्त्री



१० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता नहुने बताएका छन् ।

आज पूर्वप्रधानमन्त्री र पूर्वपराष्ट्रमन्त्रीहरुसँगको छलफलमा ओलीले ऋणसँग सम्बन्धी सम्झौता नहुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमण गर्दै छन् । चीन भ्रमणका एजेण्डाबारे उनले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरुसँग सिंहदरबारमा संयुक्त छलफल गरेका थिए ।

छलफलको क्रममा प्रधानमन्त्री ओलीले बीआरआईको ऋणको पासोमा पर्न खोजेको भन्ने हल्ला सत्य नभएको बताए । छलफलमा ओलीले, ‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौं । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन ।’ उनले चीन भ्रमणका एजेण्डाको विषयमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच विवाद छ भनेर भ्रम फिजाइएको बताए ।

चीनसँग नेपालको लामो र मित्रवत सम्बन्ध रहेको भन्दै उनले दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण हुन लागेको बताए ।

प्रधानमन्त्री ओलीले पहिले जुन देशको भ्रमण गरे पनि सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरी प्राथमिकतामा राख्ने बताए ।

‘हामी पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधिनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरी प्राथमिकतामा राख्छौं,’ उनले भने ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ६ : ५५ बजे