२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले महासचिव शंकर पोखरेल भन्छन्,‘पार्टी जीवनमा समस्या देखियो’



काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको औँल्याएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय सङ्गठन विभागको आयोजनामा ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने कार्यशालाको आज उद्घाटन गर्दै महासचिव पोखरेलले पार्टीको नीति जनतासम्म पु¥याउन तथा वैचारिक राजनीतिक सङ्घर्षमा जनतासँग संवाद गर्नुपर्ने पक्षमा कमी रहेको बताएका छन् ।

महासचिव पोखरेलले अहिले पार्टीको जुन ढङ्गले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने बताए । उनले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणामले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको तर्क गरेका छन् ।

महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले पार्टी निर्माणमा सहयोग गर्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्ने बताए । उनले पार्टीको वार्षिक कार्ययोजनाका बारेमा अभिमुखीकरण गर्नुहुँदै पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने आधारहरू र सम्पादित कामका बारेमा सहभागीको ध्यानाकर्षण गरे ।

महासचिव पोखरेलले मिसन–२०८४ मा आधारित वार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट पार्टीलाई नभएको बताए । यस सन्दर्भमा पार्टी सदस्यता नवीकरण सर्वाधिक महत्त्वपूर्ण काम भएको भन्दै महासचिव पोखरेलले पार्टी कमिटीले युवा तथा महिलाको क्षेत्रमा विशेष महत्त्वका साथ काम नगरेको बताए ।

पार्टी सदस्यलाई केन्द्रीय स्कुल विभागले मात्र प्रशिक्षण दिएर सम्भव नहुने भन्दै उनले माध्यमिक र आधारभूत तहको प्रशिक्षणको काम प्रदेश र जिल्ला कमिटीले सञ्चालन गर्नुपर्ने बताए ।

महासचिव पोखरेलले पार्टी र पार्टी नेतृत्वविरूद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरूद्ध पार्टीपङ्क्ति खरो रूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको बताए । उनले मुलुकमा देखिएको निराशालाई चिर्न राजनीतिक स्थायित्व आवश्यक रहेको हुँदा निर्वाचनबाट बलियो शक्ति स्थापना गरेर त्यसकै जगमा स्थिर सरकार निर्माण गर्नुपर्ने बताए ।

स्थायी कमिटी सदस्य तथा केन्द्रीय सङ्गठन विभागका प्रमुख काशिनाथ अधिकारीले पार्टीको सङ्गठनात्मक अवस्था, स्थानीय तहको पार्टी काममा देखिएका समस्या र समाधानका उपाय प्रस्तुत गर्दै पार्टीको अबको ध्यान वडा केन्द्रित अभियानमा हुनुपर्ने जोड दिए ।

एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीलाई नयाँ गतिका साथ अझ सशक्त रूपमा अगाडि बढाउन कार्यशाला आयोजना गरिएको बताए ब ।

कार्यशालामा उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, सचिवद्वय लेखराज भट्ट, पद्मा अर्याललगायतको सहभागिता रहेको थियो । कार्यशालामा एमाले पार्टीका प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव र सङ्गठन विभागका प्रमुख, जनसङ्गठनका केन्द्रीय अध्यक्ष र महासचिव तथा महानगर र उपमहानगरका निर्वाचित प्रमुख र उपप्रमुखको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ८ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।