ललितखबर/चापागाँउ
नेपाली चलचित्रका दर्शक नेपालमा मात्रै सिमित छैनन् । भारत, भुटान,थाइल्याण्ड बंगलादेश र पाकिस्थानसँगै रोजगारीमा गएका अमेरिका र अष्ट्रेलियालगायत संसारभर ७ करोडभन्दा धेरै नेपाली विदेशमा स्थायी बसोबास गर्छन् ।
पछिल्लो समय नेपालभन्दा बाहिरबाट समेत चलचित्र बन्ने गरेका छन् । यस्तै नेपालभन्दा बाहिरको कथा भारतको दार्जलिङ सेरोफेरोमा सन् १९८६ मा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको छ । यो चलचित्र पुस ५ गते शुक्रबारबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशन सुरु भएको छ ।
दुर्बल पक्ष
चलचित्रमा परिचित अनुहार भने देखिदैनन् । अभिनेता सौगात मल्ल चलचित्रको शिर्ष भूमिकामा छन् । चलचित्रको कथा उनकै वरिपरि घुमेको छ ।
भनिन्छ चलचित्रको हिरो कथा(स्क्रिप्ट) हो । त्यसैले चलचित्रको कथामा मेहनत र लगानी दुबै चाहिन्छ । पछिल्ला चलचित्रमा कथामा लगानी गर्ने निर्देशकहरु चम्केका छन् । बहकिएर कथाको तानाबाना बुन्नेहरु दुईचार लाख बटुलेर करोडौं डुवाएर चलचित्र क्षेत्रबाट हराएका छन् ।
भारतको दार्जिलिङ र डुअर्सवरपर बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनको भोगाईमा आधारित चलचित्र संसारभरका नेपालीहरुको रुचिको विषय हो । तर नेपाली जातीको पहिचानमा आधारित संर्घषको विषयमा फितलो कथा र कमजोर प्रस्तुतीले चलचित्रले दर्शकको ध्यान तान्दैन । युद्ध, संर्घष र आन्दोलनको विषयबस्तुमा बनेको चलचित्रभित्र खास केही हुनु पर्ने हो । तर चलचित्र ‘हात्ती आयो… फुस्सा’ जस्तै छ ।
चलचित्र गोर्खाल्याण्डको आन्दोलनमा घात प्रतिघात गर्नेहरुलाई सिध्याउन बम बहादुर पात्रले गरेको हर्कतलाई देखाइएको छ ।
चलचित्रको कथाले दर्शकको मन अडिदैन । कौतुहलता जाग्दैन । चलचित्रको प्रस्तुती पनि कमजोर छ । विषयबस्तुको उठान गर्न नै मध्यान्तरसम्म समय खर्चिएको छ । बम बहादुरको वाल्यकाल र गोर्खाल्याण्डको आन्दोलनको पृष्ठभूमिका दृश्य हेर्दा हाई हाउछ । निन्द्रा लाग्छ । पट्यारलाग्दो दृश्य,लम्मेतान कथा र श्रृजनात्मकताको कमी रहेको चलचित्र हेर्दै गर्दा खड्किन्छ ।
कच्चा निर्देशन
चलचित्र बम बहादुरको मुख्य कमजोरी निर्देशक जोन राई र रुपेश तामाङले लेखेको फितलो कथा र पटकथा र कच्चा निर्देशन हो ।
निर्देशकले चलचित्र पात्रहरुले चरित्र निर्माणमा समय खर्चेका छैनन् । चलचित्रभित्र गीतसंगीत, द्वन्द्व,हास्यजस्ता विषयबस्तुको नामोनिसान छैन ।
चलचित्र हेर्दा युद्धको दृश्य अनुभव गर्न पाइन्न । गोली ताक्दै गरेको र रगत तत्पतिएको सरिरबाहेक युद्ध र संर्घण चलचित्रमा हेर्नै पाइन्न । गोखाल्याण्डको आन्दोलन पनि भिर पाखातिर केही मान्छे जम्मा पारेर नारा लगाइएको देखाइएको छ । चलचित्र काँचोमा पर्दामा देखाइने टेलिचलचित्र भन्दा माथि उठाइएको छैन ।
सवल पक्ष
चलचित्रले युद्धको प्रभाव देखाएको छ । दार्जलिङको युद्ध र नेपालमा भएको माओवादी युद्धको उस्तै प्रकृति थियो भन्ने चलचित्र हेर्दा अनुभव गर्न सकिन्छ ।
चलचित्रको अन्तिम दृश्य रोचक छ । गोर्खालीको विरताका गाथा सुन्दा र हेर्दा गर्वले छाती चौडा हुन्छ । नेपालभन्दा बाहिर नेपालीहरुले आफ्नो अस्तित्व रक्षाका लागि नेपाल बाहिर रहेर पनि गरेको संर्घष हेर्न लायक छ । उनीहरुले नेपाली हुनुमा गर्व गरिरहेको चलचित्रमा हेर्न पाउदा नेपाली दर्शकलाई खुशी हुने ठाँउ भेटिन्छ ।
प्रविधि
चलचित्रको विजिएम राम्रो छ । केही नयाँ लाग्छ ।
छायाकार सुजोय कुमार घोष ‘मुन्ना’ले सिनेमेट्रोग्राफीमा खासै मेहेनत गरिएको देखिन्न । दार्जलिङ र वरपरको दृश्य सुन्दर ढंगबाट देखाउन सकिएको भए दर्शकको मन तान्न सकिन्थ्यो । धेरै दृश्य जंगल र पाखापखेरामा खिचिएको छ । दार्जलिङको कथा बुझाउन पनि त्याहाको परिवेश देखाउन जरुरी थियो । ज्ञान गुरुङको सम्पादन औसत छ । इजाज अलीको म्युजिक एरेन्जमेन्ट सम्झन लायक छैन ।
पछिल्ला पुस्ताका आशलाग्दा अभिनेताका रुपमा हेरिएका अभिनेता सौगात मल्लको यो अर्को कमजोर चलचित्र हो । भिन्न चरित्र र प्रस्तुतीमा देखिने उनी चलचित्र बम बहादुरमा खास केही छैन । उनी खलपात्र झैं गोर्खाल्याण्ड आन्दोलनमा घात गर्नेहरु सिध्याउन चलचित्रमा झुल्केका छन् । पात्रको रुपमा चलचित्रको अन्त्य पनि उनको भूमिका र चरित्र हेर्दा सुखद छैन । उनको चलचित्रमा संवाद भन्ने शैली (डाइलग डेलिभरी) पनि कमजोर छ । भारतको मिरिकबाट नेपाली चलचित्रमा संर्घषरत कलाकार शान्तिला तामाङ छोटो भूमिकामा देखिएकी छिन् । अनिसा रसाइलीको आन्दोलनकालीन संर्घषले दर्शकको मन तान्न सक्छ ।
बम बहादुर हेर्ने दर्शकले अभिनेता सौगातको चलचित्र छनौट क्षमतामा प्रश्न उठाउने ठाँउ राखेका छन् ।
अन्तमा,
चलचित्र बम बहादुर वार जनराको चलचित्रको रुपमा दर्शकमाझ आएको टिजर र ट्रेलरले संकेत गरेको थियो । संसारभर यस्ता चलचित्र निक्कै रुचिका साथ हेरिन्छ । यी र यस्ता चलचित्रले धेरै पैसा पनि बटुलिरहेका हुन्छन् । नेपालमायस्ता फरक फरक विद्यामा राम्रो चलचित्र बन्नु सुखद भए पनि कमजोर नेपाली चलचित्रले दर्शकको मन तान्न सक्दैन ।
चलचित्रले दार्जलिङ क्षेत्रमा भएको गोर्खाल्याण्ड आन्दोलन र नेपाली जातीले भारत सरकारसँग अधिकारका लागि गरेको संर्घषको एउटा दस्तावेज बाहेक अरु अर्थ राख्दैन ।
प्रतिक्रिया