१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शीतलहरले जनजीवन प्रभावित



जलेश्वर
विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ । लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो ।

निरन्तरको चिसो कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेका जलेश्वर– ७ का वीरेन्द्र शर्माले बताएका छन् । चिसोकै कारण सदरमुकाम जलेश्वरमा नागरिकको चहलपहलमा कमी आएको छ । बाक्लो कुहिरोका कारण यातयातका कमै चल्न थालेका छन् ।

यता जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसहरुको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चिया पसलमा अत्यधिक भीड हुने गरेको र बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म चिया पिउनेको लाइन लाग्ने गरेको जलेश्वर नगरपालिका–१ का चिया पसले उमेश साहले बताएका छन् ।

उनले आफू पसल बन्द गर्न खोज्दा पनि ग्राहकले बन्द गर्न नदिने र बिहान ३÷४ बजे नै आएर पसल खोल्न तथा राति अबेरसम्म चिया पसलमै बस्न आग्रह गर्ने गरेको बताएका छन् । चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्रहरुलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।

लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् । साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेको चिकित्सक वीरेन्द्र चौधरीले बताएका छन् ।

चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखा, खोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको स्वास्थ्यकर्मी साहले बताउछन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयले आगो बालेर घुर तापिरहेकोे देखिन्छ ।

यसैबीच जाडोकै कारण ग्रामीण भेगमा बस्तुभाउलाई पनि समस्या भइरहेको तथा किसान पनि दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकोमा चिन्तित भएको जलेश्वर–१० का किसान शहदेव मण्डलले बताएका छन् ।

उनले मसुरो, खेसारी, आलस, रहरलगायतका दलहन र तेलहन बाली र काउली, गोलभेडा, मटरलगायतका तरकारी बाली प्रत्यक्षरुपमा चिसोबाट प्रभावित भएको बताए ।

जिल्लामा जाडो बढेर जिल्लावासीले कष्टकर जीवन बिताइरहँदा पनि स्थानिय कुनै पनि पालिका वा सरोकारवाला निकायद्वारा हालसम्म कुनै पनि पालिकामा जाडोबाट बच्न÷बचाउनका लागि कुनै पनि व्यवस्था नमिलाएको अधिकांश पालिकाका स्थानीयको गुनासो रहेको छ ।

 

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।