महोत्सवमा लघु चलचित्रसँगै कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रलगायत महिला, बालबालिका, मानव अधिकारका चलचित्रहरू पनि प्रतिस्पर्धामा समावेश
काठमाडौं
हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण काठमाडौंमा माघ १७ गतेबाट माघ १९ गतेसम्म हुने भएको छ ।
विश्वभरिका सांस्कृतिक चलचित्रको प्रवद्र्धनका लागि महोत्सवमा यस पटक ६० देशका चार सय भन्दा बढी चलचित्रको आवेदन परेको र मध्येबाट नेपाल सहित ४७ देशका ९८ वटा चलचित्रहरू महोत्सवमा चयन गरिएको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
करिब ४०० वटा चलचित्रलाई प्रारम्भिक चलचित्र चयन समूहले करिब डेढ महिना लगाएर हरेपछि ९८ वटा चलचित्रहरू चयन गरेको छ । महोत्सवमा लघु चलचित्रसँगै कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रलगायत महिला, बालबालिका, मानव अधिकारका चलचित्रहरू पनि प्रतिस्पर्धामा समावेश गरिएका छन् ।
दुई मिनेटदेखि साढे दुई घण्टासम्मको चलचित्र महोत्सवको लागि चयन भएको महोत्सव आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृति केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले बताएका छन् ।
महोत्सवको लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय जुरीमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवम् लेखक इभा दाउद र रुसबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन् ।
नेपालबाट निर्णायकको रूपमा सङ्गीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशक दीपेन्द्र के. खनाल, अभिनेता प्रदिप खड्का र टेलिभिजनकर्मी टिकाराम यात्री अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल र निर्देशक दिनेश लिङदेन रहेका छन् ।
महोत्सवमा दक्षिण एसियाली मुलुकहरू भारत, बङ्गलादेश, पाकिस्तानसहित पूर्वी एसियाको चीन, जापान, थाइल्यान्ड, कोरिया, युएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम, जस्ता देशका चलचित्रहरू चयन भएका छन् ।
यस्तै संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत, फ्रान्स, इटाली, आयरल्यान्ड, जर्मनी, रसिया, ट्युनेशिया, पोर्चुगल, पोल्यान्ड, हङ्गेरी, ग्रिस, फिनल्यान्ड, डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिक, अस्ट्रियासहित विभिन्न युरोपियन मुलुकका चलचित्र यो महोत्सवमा चयन भएका छन् यस्तै मोरक्को, इजिप्ट, जमैका, क्यामरुन, सर्भिया, दक्षिण अफ्रिकासहित विभिन्न अफ्रिकन देशका चलचित्र पनि यो महोत्सवमा फाइनलको लागि चयन गरिएको छ ।
महोत्सवमा चयन भएका चलचित्रहरूले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाकार लगायत उत्कृष्ट लघु चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालबालिका चलचित्र, मानव अधिकारका चलचित्र जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया