१४ माघ २०८१, सोमबार | Tue Jan 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारी कार्यालय र कर्मचारीका लागि साइबर सुरक्षा ‘एड्भाइजरी’ जारी (पूर्णपाठ)



काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालय र सरकारी कर्मचारीको लागि साइबर सुरक्षा ‘एड्भाइजरी’ जारी गरेको छ ।

केन्द्रले सरकारी सूचना प्रविधि प्रणालीका प्रयोगकर्ताको लागि भन्दै साइबर सुरक्षा एडभाइजरी जारी गरेको हो । एजभाइजरीमा सरकारी वेबसाइटको नियमित अपडेटदेखि पासवर्ड परिवर्तन र एन्टीभाइरस अपडेटसम्मका विषय उल्लेख छ ।

सरकारी कार्यालयको वेबसाइट, एप्लिकेशन, सर्भर, स्टोरेज तथा नेटवर्क सुरक्षाबारे २१ वटा एजभाइजरी छन् । जसमा वेबसाइट नियमित अपडेट गर्ने, समस्या देखिएमा तुरुन्तै समाधान गर्ने, आफ्नो निकायको डाटाको नियमित ब्याकअप र अर्काइभ गर्नुका साथै बिजनेश कम्युनिटी प्लान लागू गर्ने, गुणस्तरको लाइसेन्स भएका हार्डवेयर र सफ्टवेयरहरु मात्रै प्रयोग गर्ने, एन्टिभाइरस, अपरेटिङ सिस्टम, सेक्युरिटी डिभाइस लगायतलाई नियमित स्क्यान र अपडेट गर्ने उल्लेख छ ।

यस्तै पासवर्ड राख्दा सहजै अनुमान गर्न नसकिने खालका सुरक्षित पासवर्ड राख्ने र तीन÷तीन महिनामा परिवर्तन गर्ने, घरपरिवार आफन्त, साथीभाइ आदीको नाम, जन्म मिति, फोन नम्बर, लगायत सजिलै पत्ता लगाउन सकिने पासवर्ड नराख्ने, वर्षको एकपटक सूचना प्रविधि प्रणालीको अडिट गराउने, कार्यालयका इमेल लगायतका सूचना प्रणालीमा दोहोरो प्रमाणीकरण राख्ने, अनावश्यक युजर अकाउन्टहरु निष्कृष्य गर्ने लगायतका विषय पनि एडभाइजरीमा छन् ।

त्यस्तै संवेदनशील सूचना रहने ठाउँमा जो कोहीलाई प्रवेश नदिने, बलियो ढोकाहरु राख्ने र आईपी क्यामेरासहितको सीसीटीभी जडान गर्नुपर्नेछ । यस्तै राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कार्यालयका ल्यापटप, कम्प्युटर र डेस्कटपको सुरक्षाको लागि पनि विभिन्न एडभाइजरी दिएको छ । यस्तै इन्टरनेट ब्राउजिङ सुरक्षाको लागि सरकारी सेवा, इमेल सेवा, बैंकिङ भुक्तानीसम्बन्धी सेवाको पहुँच गर्दा प्राइभेट ब्राउजिङ वा इन्कग्निटिओ मोड प्रयोग गर्नुपर्ने, इन्टरनेट ब्राउजरको नवीनतम संस्करण प्रयोग गर्ने, थर्ड पार्टी टुल्सको प्रयोग नगर्ने, कार्यालयका कम्प्युटर वा ल्यापटममा कुनै पनि गेम डाउनलोड नगर्ने वा नखेल्ने पनि एडभाइजरीमा उल्लेख छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १ : १९ बजे