काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल सन्यासी बनेकी छन् । उनले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको सन्यासी दीक्षा ग्रहण गरेकी हुन् । उनले सन्यास दीक्षा लिएको जानकारी अभिनेत्री तथा ओशो सन्न्यासी सोभिता सिम्खडाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छन् ।
उनले ओशो परिवारमा शिल्पालाई स्वागत गर्दै लेखेकी छन्, ‘नायिका शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको नवसंन्यास दीक्षा ग्रहण गरी माँ प्रेम हाँस्या बनेकोमा अत्यन्त हर्षित छु । अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्यायोस र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना ।’
‘लज्जा’बाट फिल्म अभिनयमा डेब्यु गरेकी शिल्पाले करिअरमा ९ फिल्ममा अभिनय गरेकी छिन् । हवल्दार सुन्तली, फागु, किस्मत २, मंगलम उनका चर्चित फिल्म हुन् । उनको पछिल्लो फिल्म ‘भिलेन’ ७ वर्षअघि रिलिज भएको थियो ।
शिल्पाले केही अगाडि मात्र फिल्म निर्माता पति छविराज ओझासँग सम्बन्ध बिच्छेद गरेकी हुन् ।
प्रतिक्रिया