काठमाडौं
आजकल नेपाली चलचित्र ’अञ्जिला’को चर्चा छ ।
यही फागुन २९ गते प्रर्दशनको तयारीमा रहेको यस चलचित्रको ट्रेलर अहिले नेपालको लागि युट्युब ट्रेन्डिङको दोश्रो नम्बरमा छ ।
ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यस चलचित्रको ट्रेलरप्रति सर्वत्र चासो देखिएको छ ।
शुक्रवार सार्वजनिक गरिएको ट्रेलरले यो समाचार तयार पार्दासम्म करिब ८ लाख ६० लाख भ्युज पाएको छ । ट्रेलरमा धेरै दर्शकलेसकारात्मक प्रतिक्रिया दिएका छन् ।
फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा चलचित्रमा रहेको ट्रेलर हेर्दा बुझ्न सकिन्छ । एन्जिलाले आफ्नै वास्तविक कथामा बनेको चलचित्रमा अभिनेत्रीको रूपमा समेत आफैँले निभाएकी छिन् ।
यस चलचित्रका निर्देशक मिलन चाम्सले चलचित्र ’अञ्जिला’को ट्रेलरलाई प्राप्त दर्शकको माया र प्रतिक्रियाको लागि खुशी व्यक्त गरेका छन् ।
“यो चलचित्र हामीले सफल गराउन सकियो भने आगामी दिनमा खेलसम्बन्धी चलचित्रहरू बनाउन नेपाली चलचित्र निर्माताहरूले लगानी गर्नेछन्,“ चाम्सले भने ।
यस चलचित्रमा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् ।
चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन् ।








प्रतिक्रिया