ललितखबर/चापागाँउ
आजको पुस्ता विद्यालय नजाने विरलै भेटिन्छन् । कलेज जाने अनि होस्टल बस्ने युवाको जमात पनि ठूलै छ । यही वर्गलाई लक्षित गरेर निर्माण गरिएको चलचित्र होस्टल ३ गतशुक्रबारदेखि चलचित्र भवनहरुमा प्रर्दशन भइरहेको छ ।
कथासार
प्राविधिक शिक्षा पढ्न फरक फरक स्थानबाट विद्यार्थीहरु होस्टलमा भेला हुन्छन् । होस्टलमा बस्ने विद्यार्थीहरुको प्रेम, नोकजोक र हाँसोठट्टालाई चलचित्रको विषयवस्तु बनाइएको छ । लेखक माधव शर्माले चलचित्रलाई मध्यन्तरसम्म रमाइलो पारामा अघि बढाएका छन् । धेरै रोचक मोडहरुबाट अघि बढेको कथा रहस्यको अन्त्यसँगै सकिन्छ ।
सुन्दर पक्ष
‘होस्टल ३’ का सबै कलाकारको डेव्यु चलचित्र भए पनि सबैको अभिनय एक से एक छ । कोही पनि नयाँ कलाकार हुन् भन्ने महसुस नै गर्न दिएका छ्रैनन् । चलचित्रभित्र हरेक कलाकारको फरक चरित्र हेर्न पाइन्छ । उनीहरुको आनीबानी बोलीचाली र व्यावहारले चरित्र चित्रण गज्जवको बनेको छ ।

चलचित्रमा कथाकार माधव शर्माले १८ बर्षदेखि ३० बर्षका युवा जमातको कथा बुनेका छन् । चलचित्रले आजको समाज र युवा वर्गलाई जोडेको छ । उनीहरुको मनोभावलाई बोकेको छ ।
चलचित्र हेरिरहँदा मन कटक्क खान्छ । आँशु झर्छ । मिठो अनुभव हुन्छ अनि ठाँउ ठाँउमा खितिति हाँसो उठ्छ । बलियो संवादले चलचित्रको वजन बढाएको छ । युवा जमातमा हुने मायाप्रेमको कुत्कुतीलाई जस्ताको तस्तै चलचित्रमा राखिएको छ ।
चलचित्र हेरिरहँदा दर्शकलाई आफ्नो कलेज जीवनको सम्झना गराउँछ । वितेका दिनहरुको नोस्टाजिक अनुभव हुन्छ ।
आजकल चलचित्र के बनाउने कस्तो बनाउने ? र कसका लागि बनाउने ? भन्ने विषयमा अन्यौल देखिन्छ । तर ‘होस्टेल ३’ चलचित्रले कस्तो र कसका लागि चलचित्र बनाउनु पर्छ भन्ने सिकाएको छ ।
होस्टेल ३ भित्र ले थुप्रै रहस्यमय घटना उठान गरेर एक एक पर्दाफास गर्न सक्षम छ ।

कमजोरी
विभिन्न ठाँउमा दोहोरो अर्थ लाग्ने संवादहरु छन् । चलचित्र लामो भएकोले हुनसक्छ गीत छोटो छोटो राखिएको छ । कथा भन्न संगीत परिहार्य भए पनि त्यो मौका चुकाइएको छ ।
ठाँउ ठाँउमा स्वरांकन मिलेको छैन । पात्रहरु धेरै भएकाले हुनसक्छ चलचित्रको कथा उठान गर्न नै एक घण्टा समय खर्चिएको छ ।
चलचित्रभित्र एक अर्काको जातलाई अपहेलना गरिएको दृश्यले भने मन कुडिन्छ । चलचित्रमा रहेको ‘चिम्से राई’ भन्ने शव्दले राई जातीको मनमा चस्का पस्न सक्छ । ‘टुप्पी पालेको बाहुन’लाई हेला पात्रको रुपमा झैं प्रस्तुत गरिनु राम्रो लाग्दैन ।

चलचित्रभित्र धेरै पात्र र उनीहरुलाई भूमिका दिने क्रममा चलचित्रको गति सुस्त छ । भने मध्यान्तरपछि चलचित्र दौडाइएको महसुस हुन्छ ।
होस्टेलका वार्डेन प्रविण खतिवडा एक दुई दृश्यमा बाहेन नदेखिदा चलचित्र खल्लो लाग्छ । हुन त चलचित्रभित्र ‘सिनेमेट्रिक लिवर्टी’लाई पर्याप्त ठाँउ दिएर बुझ्ने गरिन्छ तर चलचित्र हेरिरहँदा वास्तविकता र कल्पनाशिलतालाई घोलघाल गर्दा कही कतै नमिलेको हो कि ? भन्ने लाग्न सक्छ ।
पारस बम ठकुरी कुलव्याई (सत्यप्रकाश गौत्तम)

चर्चित टिकटकर पारसविक्रम ठकुरी ‘कुलव्याई’को अभिनयशैली परिपक्कि झैं देखिए पनि उनले मेहनत गर्नसके नेपाली चलचित्र क्षेत्रमा ठूलो सम्भावना देखिएको छ । गोलो चिटिक्क परेको अनुहार, अग्लो कद र मिठो बोलीले उनमा झन् निखार आएको छ । उनले आफूलाई फरक चरित्रमा ढाल्न राम्रै कोशिस गरेका छन् । यही अभिनयलाई फिनिसिङ दिने हो भने कुलव्याई नेपाली चलचित्रका उदाउदो कलाकार बन्नेमा शंका गर्ने ठाँउ छैन ।
सिम्रन पन्त
सिम्रनको पनि अभिनयभन्दा ज्यादा राम्रो रुप देखिन्छ । अभिनयमा खोट लगाउने ठाँउ छैन । उनले राम्रो अभिनयमार्फत आफूलाई डेव्यु कलाकार देखाएकी छैनन् । पात्रको मौलिक चरित्र चित्रणमा उनको मेहनत तारिफयोग्य भए पनि अभिनयको फिनिसिङमा केही समस्या छ ।
पदम तामाङ (जिताङ राई)
सिक्किमको सानो ठाँउमा युट्युवरको पेशा अपनाएर चर्चा कमाइरहेका पदम तामाङको चलचित्रभित्र गज्जवको अभिनय देख्न पाइन्छ । गम्भिर विषयबस्तुमा समेत उनी रमाइलो पारामा प्रस्तुत भएका छन् । उनका हरेक संवादमा दर्शका हाँसिरहेका छन् ।

आशिष घिमिरे (शिवकुमार ज्ञावाली)
चलचित्रभित्र बाहुन युवक शिवकुमार ज्ञावालीको भूमिकामा देखिएका आशिषको अभिनय औसत छ । उनले ठाँउ ठाँउमा आँखा ठूलो पारेर संवाद बोलेको देखिन्छ । यसै कारण उनले आफूलाई कमिडियनको ठाँउ लिएको जस्तो लागेपनि उनीको भूमिका त्यस्तो दिइएको छैन । पात्र अनुसारको चरित्र निर्माण र अभिनय शिल्पमा उनले तालिम लिन जरुरी देखिन्छ ।
हेना नगरकोटी (साहना शाक्य)
रंगमञ्चको पृष्ठिभूमिबाट आएकी कलाकार हेना नगरकोटीको अभिनयभन्दा चलचित्रमा उनी राम्री देखिएकी छिन् । उनको गोरो अनुहार कर्ली कपाल विछट्टै राम्रो देखिएको छ । उनको अभिनयमा पनि खोट लगाउने ठाँउ छैन । चरित्र चित्रण पनि गज्जवको छ ।
रिहान गिरी
नेपाल आइडलमार्फत संगीत यात्रामा अघि बढेका अर्का कलाकार रिहान गिरी अभिनयमा पनि पारंगत हुने सम्भावना देखाएका छन् । चलचित्रमा सुवाउदो उनको लुक्ससँगै औसत अभिनय पनि देख्न सकिन्छ । अभिनयशैलीमा सुधार ल्याए उनले चलचित्र क्षेत्रमा राम्रो सम्भावना बोकेका छन् ।
चलचित्रमा सुवास गजुरेलको मायाँलाग्दो बुढ्यौली अनुहार,दिनेश डिसीको भाषणकला हेर्नलायक छ । समा पराजुली (दिया) छोटो र मिठो भूमिकामा आफूलाई उभ्याएकी छिन् । खेलाडी पृष्ठभूमिबाट चलचित्रमा प्रस्तुत भएका उमर खानको यौलिक तथा लैगिक अप्लसंख्यकको भूमिका न्यायंगत लाग्छ ।
सन्तोष बानियाँको दिल धड्किने गाला चड्किने संवादसँगै आशिष पुरुषको डरलाग्दो स्वरुपले खलपत्रलाई दुरुस्तै प्रस्तुत गरेका छन् ।
प्रविधि
चलचित्रमा अर्जुन तिवारीको डिओपीसँगै बुद्ध थापा र मनोज खत्री सिनेमेट्रोग्राफी गज्जवको छ । सफा स्क्रिन, उज्यालो पृष्ठभूमि र चलाउमान दृश्यहरु खिचेका एगलहरु उत्कृष्ट लाग्छ । पार्श संगीत पनि मिठो छ । राजु तामाङ र रिता बलामीले श्रृगारमार्फत कलाकारलाई सुन्दर देखाउन मद्दत गरेका छन् । सुजन परियार र मनोज परियाले कलाकारहरुको चरित्र सुवाउदो भेषभुसा बनाइदिएका छन् ।
राजेन्द्र मोक्तानले रंग संयोजन पनि सन्तोषजनक नै छ । सुजन बडालको डविङ ठाँउ ठाँउमा मिलेको भेटिन्न ।
अन्तमा,
समाजको ऐना हो चलचित्र । हामीले बाँचेको समाज, परिस्थिती र मौलिक कथा व्यथा पस्कनेहरु चलचित्र क्षेत्रमा सफल छन् । ‘होस्टल ३’ यही श्रेणीको चलचित्र हो ।
चलचित्र हेर्ने सुन्ने मात्रै नभई एउटा मिठो र फरक अनुभवका लागि हेरिन्छ । बलिायो दृश्यभाषाले. चलचित्रलाई सजीव बनाउन सहयोग गरेको हुन्छ । फरक र मिठो गीतसंगीत, धुन, प्रकाश संयोजन, क्यामेरा क्वालिटी,चलायमान पृष्ठभूमि, अभिनयशैली लगायतले पनि दृश्यभाषामा निखार ल्याउँछ । प्राविधिक रुपमा बलियो रहेको होस्टेल ३ चलचित्र दृश्यभाषा भने औसल छ ।
यद्यपी चलचित्रले युवाहरुको आवाज बोलेको छ । दर्शकमाझ मौलिक स्वाद पस्केको छ । हेरुञ्जेल मज्जा पाइने धेरै चलचित्रभन्दा फरक छ, ‘होस्टल ३’ । सानातिना अनि छिटफुट कमजोरीबीच चलचित्र ‘होस्टल ३’ ‘गज्जव’को चलचित्र बनेको छ ।








प्रतिक्रिया